स्टेपिङ स्टोन स्कुललाई ‘मेयर धनगढी प्याब्सन कप’को उपाधि

२०७८ चैत ४ शुक्रबार १८:२८:०० मा प्रकाशित

सुदूरपश्चिम । धनगढीमा आयोजित ‘मेयर धनगढी प्याब्सन कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता’को उपाधि स्टेपिङ स्टोन इङ्लिस बोर्डिङ स्कुलले पाएको छ ।
शुक्रबार भएको फाइनल खेलमा लिटल फ्लावर बोर्डिङ स्कुललाई २९ रनले पराजित गर्दै स्टेपिङ प्रतियोगिताको च्याम्पियन बनेको हो । उपाधि विजेता स्टेपिङले पुरस्कार स्वरुप रु एक लाख एक हजार १११ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको लिटल फ्लावरले रु ५१ हजार १११ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको स्टेपिङले निर्धारिच २० ओभरमा छ विकेट गुमाएर १३४ रन बनायो । १३५ रनको विजयी लक्षसहित जवाफी ब्याटिङ थालेको लिटल फ्लावरले १७ दमशलब दुई ओभरमा आफ्ना सबै विकेट गुमाएर १०९ रन मात्रै बनाउन सक्यो ।

उसका शैलेश केसीले ४६ रन बनाएर आउट भए । सचिन भट्टले १४, नरेन भट्टले १२ र पारस ऐरले १० रन बनाए । बलिङतर्फ स्टेपिङका आर्यन दानपालीले तीन दशमलब दुई ओभर बलिङ गर्दै ११ रन खर्चिएर चार विकेट लिए । अभिषेक खड्काले दुई र भुपेश जोशीले एक विकेट लिए ।

यसअघि पहिलो इनिङमा स्टेपिङका विशाल विष्टले ५५ बलमा चार चौका र चार छक्काको मद्दतले ६१ रन बनाए । उसका आर्यन दानपालीले ३६ र अभिषेक खड्काले १६ रन बनाए ।

बलिङतर्फ लिटल फ्लावरका सार्थक बम र अनुराग सिंहले समान एक/एक विकेट लिए । प्रतियोगिताको ‘प्लेयर अफ दि म्याच’ स्टेपिङका आर्यन दानपाली घोषित भए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी लिटल फ्लावर स्कुलका अनुराग सिंह भए । उनले पुरस्कार स्वरुप  १० हजारसहित ट्रफि, मेडलसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस्तै उत्कृष्ट ब्याट्सम्यान शारदा माध्यमिक विद्यालयका गौरव कार्की, उत्कृष्ट बलर स्टेपिङका भुपेश जोशी र उदीयमान खेलाडी एरिस्टोका किरण देउवा भए । उनीहरूले जनही रु पाँच हजार प्राप्त गरेका छन् ।

धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर ओड र वडा अध्यक्ष नारायण बरालले प्रतियोगिताका विजेता तथा उपविजेतालाई पुरस्कार वितरण गर्नुभयो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ( प्याब्सन) को आयोजनामा भएको सो प्रतियोगितामा धनगढी नगर क्षेत्रका २० वटा निजी र सामुदायिक विद्यालयका क्रिकेट टोलीको सहभागिता रहेको थियो ।

ताजा खबर