सरकार कोभिडले थलिएको अर्थतन्त्र लयमा फर्काउने प्रयासमाः अर्थमन्त्री

२०७८ चैत ४ शुक्रबार १३:१८:०० मा प्रकाशित

ललितपुर । अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताएका छन् । ललितपुर उद्योग वाणिज्य सङ्घको ५५औं स्थापना दिवसका अवसरमा शुक्रबार उनले मुलुकको अर्थतन्त्र मजबुद बनाउने प्रयास भइरहेको उल्लेख गरेका हुन् ।

बैंकको व्याजदरबाट समस्यामा परेका व्यवसायीको हितका लागि थुप्रै किसिमको छलफल सुरु गरिरहेको मन्त्री शर्माले बताए । उनले भने, “सांस्कृतिक शहर ललितपुरमा निर्माण भएका मूर्तिलगायतका साथै वास्तुकलाकोसमेत प्रवद्र्धन गर्ने योजना छ ।” उनले कार्यक्रममा उपस्थित व्यवसायीसँग सल्लाह तथा सुझावसमेत माग गरे ।

युक्रेन र रुसबीचको युद्धका कारण मुलुकमा ठूलो असर परिरहेको उनले उल्लेख गरे । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले ३५ वर्षअघि यस क्षेत्रमा लागि पर्दा हालको जस्तो अर्थतन्त्रको एकदमै नाजुक अवस्था यसअघि कहिल्यै पनि नदेखेको गुनासो गरे । उनले भने, “अहिले मुलुकमा तरलताको समस्या गम्भीररुपमा बढ्दै गइरहेको छ । समस्या समाधान नगर्ने हो भने अर्थतन्त्रमा अझै ठूलो चुनौती थपिएर व्यवसायी मात्रैलाई होइन समस्त नेपालीकै जीवनमा प्रभाव पार्ने देखिन्छ, ध्यान दिन जरुरी छ ।”

अर्थतन्त्रको जटिल अवस्था ध्यानमा राखी सरकारले नेपालमा पर्यटकलाई खुलेर स्वागत गर्नुपर्ने बेला भएको उनको भनाइ थियो । सांसद नवराज सिलवालले अर्थतन्त्रको अवस्थाबारे छलफल गर्नु आवश्यक भएको बताए ।

ताजा खबर