‘राजाको जेठो छोरा दीपेन्द्रको लाश ल्याउँदा प्रहरी र सेनाले पनि सेता कपडा लगाएका थिए’

२०७४ पौष १५ शनिबार १५:०६:०० मा प्रकाशित

 गोरखामा जन्मिएकी सीता मरहट्ठाले पशुपति क्षेत्रमा फूल बेच्न थालेको २४ वर्ष भइसकेको छ। २०४५ सालमा काठमाडौं आएकी सीताले पाँच वर्ष तरकारीको व्यापार गरिन्। पशुपति बिकास कोषले आफ्नो परिशरमा तरकारी व्यापार निषेध गरेपछि सीताले विकल्प खोज्दै जाँदा फूलको व्यापार रोजिन्।  यो व्यापार शुरु गरेपछि अर्को उपायको खोजी गर्ननपरेको उनको अनुभव छ। धेरै पढ्न नसके पनि हातमा सीप भयो भने जस्तो काम पनि गर्न सकिने उनको अनुभव छ। सीता भन्छिन्–‘काम भनेको सानोठूलो हुँदैन। फूल बेचेर व्यापार नै चल्दैन भन्नु एकदमै गलत कुरा हो। मैले यही काम गरेर परिवार पालिरहेकी छु। यो काम जसले पनि गर्न सक्छ। यो काम धेरै जस्तो भगवान कै लागि नै गरिन्छ। फूल व्यापारमा मजाले रमाएकी सीताले जीवनका अनुभवहरु सरल पत्रिकासँग यसरी बताईन्। विस्तृत उनकै शव्दमा :

तरकारीको बदलामा फूल

मैले यहाँ काम गर्न थालेको २०५० साल देखि हो,अब २४ वर्ष भयो। पहिला सागसब्जीको व्यापार गरियो तर पशुपति बिकास कोषले त्यो काम गर्न दिएन। अनी फूलको व्यापार शुरु गरेको हो। यसमा पनि कतिपटक दुःख दिइसकेको छ। केहीदिन अघिमात्र यहाँ कुनैपनि फूलपसल राख्न नदिने भनेर उठाउँदै हिँड्यो। अब यो कस्तो नियम हो थाहा छैन। पुलिसहरु आएर यहाँका सबै फूल पसलहरु हटाएका छन्। यसकालागि कसलाई गुहार्न जाने हामी। हाम्रो रोजीराटी नै यही हो। यही काम गर्न नदिए अरु के गर्ने।

पहिले र अहिले आनकातान फरक 

पहिला त यहाँ केही पनि थिएन भन्दा पनि हुन्छ । एकदमै कम पसलहरु थिए । बाटो पनि अहिले जस्तो कहाँ थियो र! एउटा पुरानो घरमा पसल थियो। यही बस्ने गथ्र्यौं हामी। पहिला यही घरमा सातआठ हजार भाडा तिर्थे भने अहिले ३० हजार तिर्छु।  अहिले त्यो घर भुकम्पले भत्किसक्यो। पहिला धेरै सामान बिक्री हँुदैनथ्यो। मान्छेहरु धेरै सामान किन्दैनथे। थोरैले नै पुग्थ्यो। हामीलेसँग पनि त्यहि अनुसार सामान हुन्थ्यो। तर अहिले धेरै परिवर्तन भइसकेको छ। मान्छेलाई हरेक कुरामा सुविधा छ। मान्छेहरु पनि धेरै भए। अहिले व्यापार राम्रो भए पनि सामानहरु महंगो भएको छ। पहिला अहिलेको जस्तो केही थिएन। अहिले धेरै कुराहरुमा परिवर्तन भएको छ। पहिला बिकास कोष नै थिएन। फेरि अहिले जस्तो मान्छेहरु धेरै आउने धेरै हल्लाखल्ला हुनेखालको केही पनि थिएन। अहिले मान्छेहरु पनि धेरै भए र जताततै सुविधा नै सुविधा छ।

काम सानो ठुलो हुँदैन

काम भनेको सानो ठुलो हुदैन। फूल बेचेर व्यापार नै चल्दैन भन्नु एकदमै गलत कुरा हो । मैले यही काम गरेर परिवार पालिरहेकी छु। यो काम जसले पनि गर्नसक्छ। यो काम धेरै जस्तो भगवान कै लागि नै गरिन्छ ।

परिवार नै सहभागी

मेरो परिवारमा छजना छौं। घरमा म र छोरा कमाउने हो।  कमाइले पुगेकै छ भन्नुपर्छ। श्रीमानले पनि धेरै सहयोग गर्नुभएको छ। म एक्लैले त कहाँ सक्थे होला र। परिवारको सहयोग त जहाँ पनि चाहिन्छ नि। छोरा भारतीय राजदुतावासमा काम गर्छ तर के काम गर्छ मलाई थाहा छैन। उसले धेरै पढेको छैन। सानतिनो कामहरु गर्छ होला।

व्यापार हुने समय बिहान

बिहान ६ देखि ७ बजेकोबीचमा राम्रो व्यापार हुन्छ त्यसपछि अलिअलि फाट्टफुट्ट व्यापार हुन्छ। दिउँसो फूल लिन आउने भनेको प्राय मन्दिरको लागि भन्दा पनि अरु नै कामहरुका लागि हो।

अनेकथरीका फूल आउँछन्

मेरोमा धेरै थरिका फूलहरु आउँछन्। मौसम अनुसारका फूलहरु हुन्छन्। फरक फरक फूलहरु आउँछन्। लाहुरे, सयपत्री, ज्ञानमैजु, असर्फी र नौरंगीहरु यस्तै यस्तै फूलहरु हुन्छन्।

फूलको दरभाउ अनेक छन्

अहिले असर्फी फूलको चलन हो त्यो महंगो नै छ। होलसेलले मसँग ५० रुपैयाा लिन्छन् म त्यसलाई ६० देखि ७० रुपैयाँमा बेच्छु। अरु फूलहरु चाहि कोही २० रुपैयाँको तीनवटा दिन्छन्। कुनै १० रुपैयाँ लिन्छन्। फूल त यही इचङगुनारायणबाट ल्याउने गरेको छ। मलाइ फूल ल्यादिने मान्छेहरु एकै ठाउँबाट नै हो। फूल दिने मान्छेहरु धेरैजना हुन्छन्। यसको मतलब त्यहि ठाउँबाट होलसेलका फूलहरु लिएर बिभिन्न व्यापारीहरु आउँछन्। पैसा त फूलहरु हेरेर पनि हुन्छ। उनीहरु दिएको भाउमा बेच्ने हो भने त कसरी परिवार पाल्नु र कसरी यो महँगो शहरमा बस्नु।

मन्दिरभित्र जाने फूल

धेरैले थोरैथोरै फूल लान्छन्। मन्दिर भित्रकै मुख्य भगवानको पूजाकालागि भनेर करिब आठ हजार जतिका फूलहरु यहाँबाट लाने गरेका छन्। यो एकदिनमा होइन नि महिनाको हो।

फूल किन्न थरीथरीका ग्राहक 

यहाँ धेरै ठुलाबडाहरु पनि फूल किन्न आउँछन्। उनीहरुको अनुहार म चिन्छु तर नाम मलाई भन्न आउँदैन। आर्मी, मन्त्री कलाकार, पत्रकार सबै आउँछन् तर नाम म चिन्दिन। यो सन्तान थरिथरि भने जस्तै हो। एउटै परिवार त मिल्न गाह्रो हुन्छ भने बाहिरबाट फूल किन्न आउने ग्राहकको के कुरा। कोही कम पैसामा दिनु हामीलाई किन महंगो भयो भन्छन्। कोही ५ रुपैयाँमा जति दिए पनि हुन्छ भन्ने पनि आउँछन्।

ठूलाबडाका लाश 

यहीँ बसेर मैले गणेशमान सिंहदेखि गिरिजाप्रसाद कोइरालासम्मको लाश जलेको देखँे। धेरैजस्तो ठूला  नेताहरुको लाश जलेको पनि देखियो। अझ दरबार हत्याकाण्डपछि राजारानी मर्दा त कफ्र्यु नै लागेको जस्तो भएको थियो। झन् राजाको जेठो छोरा दीपेन्द्रको लाश ल्याउँदा त पुलिस आर्मी पनि सेता लुगा लगाएर आएका थिए। त्यो समय अहिले सम्झँदा पनि जिउ नै सिरिङ हन्छ। 

फूलबाट गुजारा चलेको छ

अब राम्रो नराम्रो त यस्तै हो, जे भए पनि गुजारा चलेको छ। परिवारलाई पालनपोषण गर्न पुगेको छ। डेराभाडा तिरिएको छ। खान पुगेको छ। यसैको कमाईले बिहे दान पनि गरियो। त्यहि त हो।

मेरो दैनिकी 

म ४ः३० बजे आउँछु। पसल खोल्छु। फूलको व्यापार गर्छु। ११ बजे खाना खान घर जान्छु। अनि एकछिन आराम गर्छु र १२ बजेतिर फूल बेच्न यहीँ आउँछु। बेलुकी जाडोमा त चाँडै नै बन्द गर्छु। नत्र अरुबेला ७ बजेपछि पसल बन्द गर्छु।

प्रस्तुति: सुकृत नेपाल 


 
  


 

ताजा खबर