पुटिनले युक्रेनसँग शान्ति सम्झौताका लागि अघि सारे यस्ता माग

२०७८ चैत ४ शुक्रबार ०८:०४:०० मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति सम्झौताका लागि आफ्ना टर्किश समकक्षीसमक्ष मागहरू अगाडि सारेका छन् । बिहीबार टेलिफोनवार्ताका क्रममा पुटिनले रेजेप तय्यीप एर्दोआनलाई रुसका ठोस मागहरू बताएका हुन् ।

पुटिन र एर्दोआनबीच भएको कुराकानी टर्किश अधिकारीहरूको एउटा सानो समूहले पनि सुनेको थियो जुन समूहमा एर्दोआनका एक प्रमुख सल्लाहकार इब्राहिम कालिन पनि थिए । उनका अनुसार रुसका मागहरू दुई भागमा बाँडिएका छन् । कालिनले बताएअनुसार शुरूका चारवटा रुसी मागहरू पूरा गर्न युक्रेनलाई धेरै गाह्रो छैन ।

तीमध्ये एउटा प्रमुख माग भनेको युक्रेन तटस्थ बस्नुपर्ने र उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको सदस्यताका लागि अघि बढ्न नहुने रहेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो मागलाई स्वीकारिसकेका छन् । पहिलो भागका अरू मागहरू धेरैजसो रुसले जितेको जस्तो देखाउने खालका छन् । युक्रेन निरस्त्रीकरणको प्रक्रियामा जानुपर्ने हुन्छ जसले रुसका लागि ऊ खतरा नभएको सुनिश्चित गरोस् ।

युक्रेनमा रुसी भाषालाई संरक्षण गर्नुपर्ने र सार्वजनिक जीवनबाट नाजीवादका सबै अवशेष एवम् प्रभावको अन्त्य हुनुपर्ने माग छ । यो माग चाहिँ जेलेन्स्कीका लागि अपमानजक छ जो आफैँ एक यहुदी हुन् र उनका पनि केही आफन्तहरू यहुदी नरसंहारमा मारिएका थिए । तर रुसको त्यो माग पनि पूरा गर्न जेलेन्स्कीलाई खासै गाह्रो नहुने टर्कीको विश्वास छ ।

नवनाजीवादका सबै स्वरूपको युक्रेनले निन्दा गर्दा पर्याप्त हुनेछ । दोस्रो भागका मागको हकमा चाहिँ कठिनाइ देखिन्छ र सहमतिमा पुग्नुअघि पुटिनका अनुसार जेलेन्स्कीसँग उनले साक्षात वार्ता गर्नुपर्ने हुन्छ ।

जेलेन्स्कीले पनि पुटिनसँग प्रत्यक्ष वार्ता गर्नका लागि आफू तयार रहेको पहिल्यै बताइसकेका छन् । दोस्रो भागका मागबारे एर्दोआनका सल्लाहकार कालिनले खासै ठोस कुरा गरेनन् । उनले ती मागहरू पूर्वी युक्रेनको डोनबास क्षेत्रसँग सम्बन्धित रहेको बताए । त्यसबारे कालिनले विस्तृत त खुलाएनन्। तर युक्रेनले पूर्वी भूभाग छोड्नुपर्ने रुसी माग रहेको अनुमान गरिँदैछ जुन निकै पेचिलो विषय हुनेछ ।

अर्को अनुमान अनुसार युक्रेनले क्राइमियालाई रुसकै भूभागको रूपमा मान्यता दियोस् भन्ने रुसको चाहना छ जुन कुरा युक्रेनका लागि साँच्चै फलामको चिउरा चपाए सरह हुनेछ । रुसले सन् २०१४ मा युक्रेनको क्राइमियालाई आफूमा गाभेको थियो।

 

ताजा खबर