स्थानीय तहको उम्मेदवारको पेस्की र असुलउपर गर्नुपर्ने बेरुजु फछ्र्योट हुनुपर्ने

२०७८ चैत ३ बिहीबार १७:३४:०० मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको प्रचारप्रसारमा कडाइ गरेको छ । राजपत्रमा बिहीबार प्रकाशित निर्वाचन आचारसंहितामा आफ्नो कार्यालय बाहेकका स्थानमा डिजिटल बोर्ड, फ्लेक्स र ग्लोसाइन बोर्ड राखेर प्रचारप्रसार गर्न प्रतिबन्ध लगाइएको छ ।

आचारसंहितामा स्थानीय तहका जनप्रतिनिधिहरूले मनोनयन दर्ता गर्ने बेलासम्म बहाल रहेको पदबाट राजीनामा दिइसक्नु पर्ने उल्लेख गरिएको छ । त्यस्तै राजनीतिक दलहरूले दुई जना मुख्य प्रचारकको नाम आयोगलाई बुझाउनु पर्ने र उनीहरूले हेलिकप्टर प्रयोग गर्न पाउने आचार संहितामा उल्लेख छ ।

आचारसंहितामा स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्न नपाइने उल्लेख छ । कार्यक्रम गर्नुपरे ७२ घण्टा अघि प्रशासन र प्रहरीलाई जानकारी दिनुपर्नेछ ।

त्यस्तै जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह, झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट लगाउन र झोला बोक्न पाइने छैन । घरधनीको अनुमति नलिई कसैको निजी घरजग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोलमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न नहुने आचारसंहितमा उल्लेखछ । त्यस्तै निर्वाचन प्रचार प्रसारको काम पनि बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइनेछ ।

 

ताजा खबर