गठबन्धनबाट चुनाव जितौँला भन्ने सोच हटाउनुस्ः प्रचण्ड

२०७८ चैत २ बुधबार १५:५७:०० मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी तीनै तहको निर्वाचन माओवादीका लागि जीवन मरणको लडाइँ भएको बताएका छन् ।

बुधबार पार्टीको वैचारिक–राजनीतिक प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तीनै तहको निर्वाचन माओवादीका लागि जीवन मरणको लडाइँ भएको बताएका हुन् ।

उनले भने,‘आगामी निर्वाचन हाम्रा लागि जीवन मरणको लडाइँ भएर आउँदैछ। जसलाई हामीले जित्नै पर्ने भएको छ।’ अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा गठबन्धनबाट जितौँला भन्ने सोच हटाउन नेता कार्यकर्तालाई आग्रह गरे ।

उनले भने, हामी आफैं नमरी स्वर्ग देखिँदैन। आफ्नै खुट्टामा उभिएर आफ्नै तागत र बलमा चुनाव जित्छौँ भन्ने आत्मविश्वास हामीलाई चाहिएको छ।’ उनले विगतमा पार्टीका सम्पूर्ण शक्तिहरु आक्रामक ढंगले प्रस्तुत हुँदा नै चुनाव जितिएको स्मरण गर्दै जालझेल र सेटिङमा पार्टीलाई विश्वास नभएको बताए ।

उनले भने, जालझेल गर्न, षड्यन्त्र गर्न, बाकस साट्न या अरु सेटिङ मिलाएर चुनाव जसरी पनि हात पार्न हामी सिपालु छैनौँ । त्यसमा काँग्रेस एमाले नै सिपालु छन् ।’

ताजा खबर