रुसद्वारा अमेरिकी राष्ट्रपति बाइडनविरुद्ध प्रतिबन्ध घोषणा

२०७८ चैत १ मंगलबार २१:३१:०० मा प्रकाशित

रुसले अमेरिकी राष्ट्रपति जो बाइडनविरुद्ध प्रतिबन्धहरू घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन, रक्षामन्त्री लोयड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र सीआईएका प्रमुख विलियम बर्न्सविरुद्ध पनि रुसले प्रतिबन्धहरू लगाएको छ । आफ्ना प्रतिबन्धबाट अरू पनि प्रभावित हुने रुसी विदेश मन्त्रालयले जनाएको छ ।

युरोपेली सङ्घ र ब्रिटेनले रुसविरुद्ध थप प्रतिबन्धहरू सार्वजनिक गरेकै दिन रुसी प्रतिबन्धबारे खबर बाहिर आएको हो । ब्रिटेनले रुसका थप ३७० जना र संस्थामाथि प्रतिबन्ध लगाएको छ। त्यसबाट उनीहरूको सम्पत्ति रोक्का हुने र यात्रामा प्रतिबन्ध लाग्नेछ ।

ब्रिटिश सूचीमा पूर्वराष्ट्रपति तथा रुसी सुरक्षा परिषद्का अध्यक्ष दिमित्रि मेदभेदेभ, पुटिनका प्रवक्ता दिमित्रि पेस्कोभ, रुसी रक्षामन्त्री सर्गेइ सोइगु र रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभालगायत छन् ।

यसअघि ब्रिटेनले व्यापार प्रतिबन्धहरू लगाएको थियो जसमा भोड्कामा थप ३५ प्रतिशत कर लगाइएको थियो । ईयूका प्रतिबन्धहरूमा महँगा गाडी, गहना लगायतका बिलासी वस्तुहरूको निर्यात परेका छन् । उसले रुसको उर्जा क्षेत्रमा हुने नयाँ लगानीमाथि पनि प्रतिबन्ध लगाउने भएको छ।

ताजा खबर