भारत सरकारको आर्थिक अनुदानमा त्रिवि केन्द्रीय पुस्तकालय बन्ने

२०७८ चैत १ मंगलबार १५:१०:०० मा प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको नयाँ बन्ने अत्याधुनिक भवनको मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्तरुपमा शिलान्यास गरेका छन् । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त भएको पुस्तकालयको भवन भारत सरकारको आर्थिक अनुदानमा निर्माण हुन लागेको हो ।

कूल ३६ करोड ११ लाख ६६ हजारमा निर्माण हुन लागेको भवनमा पाठक तथा अनुसन्धानकर्ताका लागि २४ सै घण्टा बसेर अध्ययन गर्न सक्ने व्यवस्थाका साथै इ–लाइब्रेरी सुविधाका लागि छुट्टै कम्प्युटर ल्याब, सेमिनार वर्कसपका लागि हल, प्रर्दशनी कक्ष आदिको व्यवस्था रहनेछ । सो भवन १५ महिनाभित्र निर्माण सक्ने गरी सम्झौता भएको छ ।

शिलान्यास कार्यक्रममा शिक्षामन्त्री पौडेलले दक्ष र गुणस्तरीय जनशक्ति निर्माण गरी मुलुकको समृद्धि र विकासको नेतृत्व गर्नुपर्ने बताए । देशको शैक्षिक विकासका लागि शैक्षिक पूर्वाधार निर्माणमा भारत सरकारले महत्वपूर्ण सहयोग उपलब्ध गराउँदै आइरहेको उनले उल्लेख गरे ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत क्वात्राले नेपाल भारत सम्बन्धलाई थप विश्वसनीय, दिगो र मजबुत बनाउन यस सहयोग महत्वपूर्ण रहेको बताए । पुस्तकालय सामाजिक जीवनलाई व्यवस्थित गर्ने, विचार र दर्शन आदनप्रदान गर्ने, नवीनतम खोज र अनुसन्धान गर्ने महत्वपूर्ण स्थान रहेको उल्लेख गर्दै विश्वविद्यालय परिसरमा रहेको गान्धी भवन, जाकिर हुसेन उद्यान र त्रिवि केन्द्रीय पुस्तकालय निर्माणमा भारतले सहयोग गर्न पाएकोमा भारतीय दूतावास हर्षित भएको उनले बताए ।

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले त्रिभुवन विश्वविद्यालयको विकासका लागि भारत सरकारले लामो समयदेखि सहयोग उपलब्ध गराउँदै आइरहेको बताए ।

त्रिविका आंगिक क्याम्पसमा हालसम्म पनि भारतीय प्राध्यापक कार्यरत रहेको उल्लेख गर्दै उनले त्रिवि केन्द्रीय पुस्तकालयको स्थापनाकालदेखिनै सहयोग गर्दै आइरहेको भारत सरकारले हाल पुस्तकालयको अत्याधुनिक भवन निर्माण गर्न आर्थिक सहयोग गरेर सम्बन्ध थप प्रगाढ बनाएको धारणा व्यक्त गरेका थिए ।

विश्वविद्यालयले गुणस्तर सुधारका लागि अधिकतम प्रयत्न गरिरहेको उल्लेख गर्दै एक्जिम बैंकको सहयोगमा त्रिविका ३८ वटा आंगिक क्याम्पसको भौतिक पूर्वाधारलाई थप व्यवस्थित र सृदृढ बनाउनेसमेत उनले जानकारी दिए ।

 

ताजा खबर