युक्रेनको मिसाइल आक्रमणमा २० जनाको मृत्यु भएको रुसी दाबी

२०७८ चैत १ मंगलबार १३:१०:०० मा प्रकाशित

रुसी विदेश मन्त्रालयले युक्रेनी सेनाले प्रहार गरेको क्षेप्यास्त्रबाट २० जनाको मृत्यु भएको र २८ जना घाइते भएका बताएको छ । सेनाका अनुसार डोनेट्स्कको एक आवासीय इलाकामा टोचका–यु रणनीतिक मिसाइलले आक्रमण गरिएको थियो। युक्रेनी सञ्चारमाध्यमले डोनबासमा भीषण लडाइ जारी रहेको बताएका छन् ।

युक्रेनको सशस्त्र बलका अनुसार एकसय रुसी सैनिक मारिएका छन् र ६ वटा गाडी ध्वस्त भएका छन् । रुसले डोनेस्क ओब्लास्टमा युक्रेनी प्रतिरक्षा तोड्ने प्रयास गरिरहेको पनि बताइएको छ । कीभ इन्डिपेन्डेन्टले उल्लेक गरेअनुसार रुसले खार्किभमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । खार्किभका गभर्नर ओलेह सिन्येहुबोभले खार्किभलाई रुसमा राखिएको छोटो दुरीको इस्कन्डर ब्यालिस्टिक मिसाइल प्रणालीले प्रहार गरेको दाबी गरेका छन् ।

गत फेब्रुअरी २४ मा, डोनेट्स्क र लुहान्स्क जन गणतन्त्रहरूले आफ्नो रक्षा गर्न मद्दतको लागि अनुरोध गरेपछि रुसले युक्रेनमा विशेष सैन्य कारबाही शुरु गरेको जनाएको छ । रुसी रक्षा मन्त्रालयले विशेष अपरेसनले युक्रेनी सैन्य पूर्वाधारलाई मात्र लक्षित गरेको र सर्वसाधारण नागरिक खतरामा नरहेको बताएको छ । यद्यपि पश्चिमी देशहरूले रुसीहरूको यी दावीहरूलाई अस्वीकार गरेका छन् र प्रतिक्रियामा पश्चिमी राष्ट्रहरूले मस्कोमा व्यापक प्रतिबन्धहरू लगाएका छन्।

ताजा खबर