मेरो विनम्र अनुरोध मलाई कुनै कित्तामा नउभ्याइदिनु होला

२०७८ फाल्गुण ३० सोमबार १३:४३:०० मा प्रकाशित

प्रकाश सपुत ।
’पीर’ प्रतिको शुभेच्छाका लागि तपाईंहरु सबैलाई धेरै–धेरै धन्यवाद ! सबैको अपेक्षा अनुसारको सिर्जना गर्न सम्भव नहुँदो रहेछ । सधैं कसैको मन नबिझाइ सबैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने रहेछ । त्यसैले मेरो नयाँ गीत ’पीर’का कारण केही दर्शकस्रोतालाई मर्का परेको मैले महसुस गरेको छ ।

गीतले भन्ने चाहेको कुरा यहाँलाई अवगत भइसकेको छ । एउटा सर्जक भएका नाताले आफ्नो सिर्जनालाई लिएर गरिएका अपेक्षा र टिप्पणीहरुको उपेक्षा गर्न हुन्न भन्ने मलाई महसुस भएको छ। मैले सबै खालका प्रतिक्रिया र टिप्पणी हेरिरहेको छु । यतिबेला आफ्नै सिर्जना तपाईंहरुका नजरबाट नियालिरहेको छु। मैले गल्ती गरेको हो कि ? तपाईंहरु (केही)ले गलत बुझ्नुभएको हो, समीक्षा गर्दैछु।
’पीर’बाट मैले युद्धकै जग÷ बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको हो । समानताको लागि एकसाथ लडेका कमरेडहरु बीचमा बढ्दै गएको असमान दूरी देखाउन खोजेको हौं । एक आमनागरिकले राज्यसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्ने कोशिस गरेको हौं । मलाई लागेको–यत्तिको विषय त हामीले टेलिभिजन कार्यक्रमहरुमा हेर्दै आएको होइन र ? पत्रपत्रिकाहरुमा त्यसबारे लेखिदै /पढिँदै आएको होइन र ? छर्लङ्गै देखिएको विषय होइन र ? स्वीकारिएको विषय होइन र ?

जसरी यसअघिका गीतहरु ’बोल माया’, ’दोहोरी ब्याटल’, ’गल्बन्दी’, ’बदला बरिलै’, ’फुटेका चुरा’ , ’मेरो पनि हैन र यो देश’ , ’कुरा बुझ्न पर्छ ’ गीतहरुमा कथा बुन्थें, पात्र बनाउथें , टुक्का टिप्थे, लय हाल्थे र रेकर्ड ÷ छायाङ्कन गर्थें । यसमा पनि त्यही प्रक्रिया छ ।

गीतको पृष्ठभूमिका बारेमा केही अवगत गराउन चाहन्छु । ६ वर्ष अगाडि करिब ४ वर्ष दोहोरी साँझमा काम गर्दा गाउने/बजाउने/ पकाउने/ पस्कने मध्यका थुप्रै सहकर्मीहरु पूर्व लडाकु थिए। उनीहरु चरम निराशावादी कुरा गर्थे। त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिएँ। संयोगले अहिले निस्क्यो। यसबाहेक कुनै राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखिएको स्पस्ट पार्न चाहन्छु। प्रतिकात्मक रुपमा दृष्यहरु निर्माण गरेर बनाएको एउटा कमरेडको कथा हो ’पीर’। यो बिचमा मैले यस्ता पात्रहरुको अवस्था, स्वभाव, सोचको अध्ययन गरें । केही पात्रहरुसँग भेटेर कुराकानी पनि गरें। केही पात्रहरु पढें । आममानिसका भोगाई र संवेदनाहरु बुने र भिडियो बनाएँ । मेरो पेशा र पहिचान यही हो।

एउटै गीतमा सबै दृष्टिकोण अटाउन सकिँदैन । पूरै बुझाइ आउँदैन । त्यसैले अर्को गीतमा अर्को कथा भन्नु त छँदैछ, त्यसमा अर्कै दृष्टिकोण समेटौँला । अहिले अलि धेरै कोट्याएर हेरिएको एउटा दृष्य छ, त्यो आत्मसम्मानसँग जोडिएको प्रतिकात्मक दृष्य हो । प्रतिकात्मक रुपमा राखिएका यस्ता दृष्यहरुले कसैको आत्मसम्मानमा असर पुग्न गएको छ भने म फेरि आत्मालोचना गर्छु । यद्यपि मैले भिडियोको सुरुमा यो कुरा लेखेको पनि छु। माफी मागेको छु । अब यस्ता पात्रहरु छन् वा छैनन् भन्नेतर्फ नजाउँ । त्यसो हो भने मुना /मदन छन् कि छैनन् ? सुम्निमा र सोमदत्त खोज्न कहाँ जाने ? सुयोगबिर र सकम्बरी कहाँ होलान् ? कहाँ होला घु्म्ने मेच माथि बसेको अन्धो मान्छे ? खैर, भिडियोलाई फेरि एकपटक अक्षरस हेर्ने हो भने व्यवस्था परिवर्तनमा माओवादी युद्ध र आन्दोलनलाई कहीँनेर पनि गलत अर्थ्याइएको छैन ।

बरु भएभरका परिवर्तनको जस दिइएको छ । भिडियोमा देखिएका पात्रहरु जस्तैको बलिदानीले पाएको यो नयाँ व्यवस्थामा मैले यति धेरै फाइदा उठाएको छु भने उनीहरुको अवस्थाको गीत किन नगाउने भन्ने हो। अब भिडियो नै हटाउँदा पो युद्ध /आन्दोलन /गणतन्त्र/ स्वतन्त्रताको अपमान हुने हो कि ? म अत्यन्त अन्तरमुखि र शान्त मनुवा हुँ । म सर्जक हुँ, सिर्जना नै मेरो बिचार हो ! आवाज हो । विवाद मेरो स्वभाव र ल्याकतको कुरा होइन ! मैले कसैसँग पनि यो विषयमा सहयोग/सल्लाह लिएको छैन । त्यसैले सिर्जना र स्वतन्त्रताको कुरा त गरौं तर यसलाई राजनीतिकरण नगर्न सबैसँग अनुरोध गर्दछु । मैले आफ्नो स्वतन्त्रताको आनन्द लिइरहेको छु । मेरो विनम्र अनुरोध मलाई कुनै कित्तामा नउभ्याइदिनु होला ।

कुनै विषय जब विवादित बन्छ, त्यो बनेको बन्यै गर्छ । पक्ष /विपक्षमा एकोहोरो भइन्छ ! नेपाली सोसियल मिडियामा यो गलत नजिर स्थापित भएको छ । विवादले मानसिक तनाव त दिन्छ नै विषयान्तर पनि गर्छ। गीत र भिडियोको भाषा, शैली, प्रस्तुतीलाई कलाका दृष्टिबाट, विचारका दृष्टिबाट हेरौं, समिक्षा गरौ ! तर गीतले उठाउन खोजेको मुख्य विषयहरुलाई एकपटक इमान्दार भएर विचार गरौं । समग्र विषय त सत्य हो भन्दै नेतृत्व पंक्तिले स्विकारिसक्नु भएको छ । त्यसलाई सम्बोधन गर्नेतर्फ केही कदम उठाइयो भने मेरो सिर्जनाले सार्थकता पाउने थियो।

भिडियो हेरिरहँदा जुन–जुन दृष्यले सन्बन्धित साथीहरुलाई आत्मसम्मानमा चोट पुगेको छ, त्यस प्रति म फेरि पनि क्षमा चाहन्छु । यसलाई कलाको दुष्टिकोणले हेर्न आग्रह गर्न चाहन्छु ! कसैले नियतवस उक्साएर वा कसैले निरन्तर निरुत्साहित गरेर एउटा सर्जकलाई दुविधामा नपारौ । न अल्झाउँ ! किनकि समाजमा टिप्नुपर्ने कैयौं कथा छन् । गाउनुपर्ने कयौं, गीत छन् । तपाईंले नै लडेर ल्याएको नयाँ व्यवस्थामा पनि सोध्नुपर्ने कैयौं प्रश्नहरु छन् । प्रश्नहरुलाई निरुत्साहित नगरिदिनुहोस्।

सपुतको फेसबुकबाट ।

ताजा खबर