निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा सिंह निर्वाचित

२०७८ फाल्गुण ३० सोमबार १२:३७:०० मा प्रकाशित

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा रवी सिंह दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । महासङ्घको १२औँ महाधिवेशनबाट तीन वर्षे कार्यकालका लागि उनी पुन : निर्वाचित भएका हुन् । सिंह ७६५ मत प्राप्त गरी विजयी भए भने । उनका निकटतम् प्रतिद्वन्द्वी निकोलस पाण्डेले ३३७ मत प्राप्त गरे ।

वरिष्ठ उपाध्यक्षमा आङदोर्जी लामा (एडी) निर्वाचित भएका छन् । यसैगरी एसोसियट उपाध्यक्षमा रामजी पन्त, प्रदेश नं १ बाट मोहनप्रसाद अधिकारी, मधेश प्रदेशबाट शम्भु ठाकुर, बागमतीबाट बालकृष्ण थापा, गण्डकीबाट खेमराज मल्ल र लुम्बिनी प्रदेश उपाध्यक्षमा टोपबहादुर रायमाझी निर्वाचित भएका छन् ।

कर्णाली र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा क्रमश : रत्नबहादुर खड्का र प्रकाशबहादुर सेठी यसअघि नै निर्विरोध भएका महासङ्घका प्रेस सल्लाहकार निर्मल अर्यालले जानकारी दिए । महासचिवमा रोशन दाहाल दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उपमहासचिव (नीतिगत)तर्फ शिवहरि घिमिरे र उपमहासचिव (आन्तरिक) तर्फ नरहरि थपलिया निर्वाचित भएका छन् । यसैगरी कोषाध्यक्ष र सह–कोषाध्यक्षमा क्रमशः निरान श्रेष्ठ र सन्तोष साह निर्वाचित भएका छन् । निर्वाचनमा एक हजार १८५ मत खसेको थियो ।

ताजा खबर