रुसलाई सैन्य वा आर्थिक सहयोग नगर्न चीनलाई अमेरिकाको चेतावनी

२०७८ फाल्गुण ३० सोमबार ०८:३१:०० मा प्रकाशित

अमेरिकाले रुसलाई कुनै पनि किसिमको आर्थिक वा सैन्य सहायता उपलब्ध नगराउन चीनलाई चेतावनी दिएको छ । रुसले चीनसँग त्यस्तो सहायता मागेको अमेरिकी अधिकारीहरूले बताएका छन् । तर चीनका एक अधिकारीले आफूहरू लडाइँ नचर्कोस् भन्ने पक्षमा रहेको बताए ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसलाई पश्चिमा प्रतिबन्धहरूबाट जोगाउने कुनै कोसिस बेइजिङले गर्न नहुने बताएका छन् । सोमबार उनले चीनका वरिष्ठ विदेश नीति अधिकारी याङ जेइचीसँग रोममा भेट्दैछन् ।

फाइनान्सियल टाइम्स र वाशिङ्टन पोस्ट पत्रिकामा आएका विवरणअनुसार युक्रेन अतिक्रमण सुरु भएदेखि नै रुसले बेइजिङसँग त्यस्तो मद्दत मागेको थियो । तर विवरणमा रुसले कस्तो प्रकारका अस्त्र सहायता खोजेको हो भन्ने बताइएको छैन । वाशिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले मस्कोले हतियार मागेको बारे आफूहरूलाई कुनै जानकारी नभएको बताए ।

उनले चीनको मुख्य प्राथमिकता लडाइँ चर्कन नदिनु नै रहेको बताए । हालसम्म चीनले रुस–युक्रेन युद्धमा आफूलाई तटस्थ रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको छ । यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुनः नेटोलाई उनको देशको आकाशमाथि उडान प्रतिबन्धित क्षेत्र घोषणा गर्न आह्वान गरेका छन् । उनले अब रुसले केही समयमै पश्चिमा सैन्य गठबन्धनका सदस्य देशलाई पनि निसानामा पार्ने बताए ।
 

ताजा खबर