एमसीसी सम्झौता पार्टीले अनुमोदन नगरे अध्यक्षबाट राजीनामा दिन्छुः प्रचण्ड

२०७८ फाल्गुण २९ आइतबार १२:२५:०० मा प्रकाशित

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सम्झौता पारित गर्ने पार्टीको यसअघिको निर्णय फेल भएमा राजीनामा दिने बताएका छन् ।

आइतबार विराटनगर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले एमसीसी अनुमोदन हुन नसके अध्यक्षबाट राजीनामा दिने बताएका हुन् ।

उनले आगामी चुनावपछि पार्टीमा एमसीसीबारे छलफल हुने र छलफल पछिको निष्कर्षका क्रममा फेल भएमा राजीनामा दिने बताए । उनले भने,‘ ढुक्क हुनुहोला आगामी चुनावपछि पार्टीमा एमसीसीबारे छलफल हुन्छ। फेल भयो भने राजीनामा दिन्छु।।’ व्याख्यात्मक घोषणासहितको एमसीसी उचित सम्मानसहित कार्यान्वयनमा नगए पार्टी आन्दोलनमा जाने समेत उनले बताए ।

अध्यक्ष प्रचण्डले आफ्नै संगठन बलियो बनाएर पार्टी चुनावमा होमिने तर, गठबन्धनका दलहरुबीच स्थानीय तहको चुनावमा तालमेल भए गठबन्धन बनाएर पनि अगाडि जान सकिने बताए ।

उनले पार्टीमा सहभागी हुने सबै नेता तथा कार्यकर्तालाई उचित जिम्मेवारी दिइने बताए । पार्टीका तर्फबाट अगाडि सारिएको जनपक्षीय एजेण्डलाई कार्यान्वयन गराउनका लागि जनताको घर दैलोमा लैजान र देशका लागि आफूहरुका तर्फबाट गरिएको पहलबारे जानकारी गराउनसमेत उनले आग्रह गरे ।

ताजा खबर