ओलीले कम्युनिष्ट आन्दोलनलाई धोखा दिएः खनाल

२०७८ फाल्गुण २८ शनिबार १९:०६:०० मा प्रकाशित

भक्तपुर । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले युक्रेनबाट पाठ सिकेर सबै छिमेकीसँग नेपालले समदूरीमा रहेर परराष्ट्र नीति अँगाल्नुपर्ने बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी) भक्तपुर नगर समितिले शनिबार आयोजना गरेको भेलामा खनालले विश्वमा समाजवादी शक्ति पहिलेभन्दा अघि बढ्न सक्ने परिस्थिति बन्दै गएको बताए ।

नयाँ संविधानअनुसार सम्पन्न निर्वाचनमा दुईवटा कम्युनिष्ट पार्टीहरू एकताबद्ध भएर अगाडि बढ्ने अवसर जुट्यो र त्यो अवसरका आधारमा झण्डै दुईतिहाइ बहुमत प्राप्त गरी सरकार निर्माण गर्दा जनताको आकांक्षा सगरमाथाजस्तै चुलिएको भन्दै खनालले केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ खाएको दिनदेखि पार्टीलाई बेवास्ता गर्ने, पार्टीको निर्देशन नमान्ने प्रवृत्ति देखिएको, देश र जनतालाई धोखा दिएको आरोप लगाए ।

उनले भने, “कम्युनिष्ट आन्दोलनप्रति, पार्टीप्रति एकपछि अर्को प्रहार गर्न थालेपछि नेपालको कम्युनिष्ट आन्दोलनमा बडो दुर्भाग्यपूर्ण स्थिति सिर्जना भयो, शक्तिशाली संसद दुई–दुईपटक विघटन भयो र कम्युनिष्ट आन्दोलनलाई धोखा दिन थालेको सिलसिलामा नयाँ कम्युनिष्ट पार्टी नेकपा (एकीकृत समाजवादी)को जन्म भएको हो ।”

उनले राष्ट्रिय परिस्थितिमा रहेको प्रतिकूलतालाई बदलेर जानुपर्ने र त्यसका लागि शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ६१ युवा नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका थिए । नवप्रवेशीलाई नेता खनालले टीका र खाँदा लगाई पार्टीमा स्वागत गरेका थिए ।

ताजा खबर