त्रिभुवन आर्मी झापा गोल्डकपको फाइनलमा

२०७८ फाल्गुण २७ शुक्रबार २२:१३:०० मा प्रकाशित

झापा । त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको प्रतियोगितामा सातदोबाटो युथ क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो ।

आर्मीका लागि सुमन अर्याल, सन्तोष तामाङ र टेकबहादुर बुढाथोकीले गोल गरे । सातदोबाटोले एक गोल मात्र फर्काउन सक्यो । खेलको २७औँ मिनेटमा सन्तोष तामाङले प्रहार गरेको फ्री किकमा सुमनले गोल गरे । पहिलो हाफको थप समयमा सातदोबाटोले गोल फर्कायो । उसका लागि सुशील राईको क्रसमा दीपकराजसिंह ठकुरीले गोल गरे ।

दोस्रो हाफमा आर्मीले तीन गोल थप्यो । ६०औँ मिनेटमा आर्मीका सन्तोष तामाङले गोल गर्दै खेललाई २–१ मा पुर्याए । ८०औँ मिनेटमा नवयुग श्रेष्ठको हेडरमा टेकबहादुर बुढाथोकीले गोल गर्दै सातदोबाटोसँग फराकिलो अन्तर बनाए । ८४औँ मिनेटमा टेकबहादुरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे । उनले कमलबहादुर थापाको पासमा गोल गरेका हुन् । स्टार खेलाडी गुमाएको सातदोबाटोले निर्धारित ९० मिनेटमा आर्मीविरुद्ध खासै मुभ बनाउन सकेन ।

५३ मिनेटमा स्ट्राइकर सुशील राईको पासमा सातदोबाटोका स्कोरर दीपकराजसिंह ठकुरीको कडा प्रहार विपक्षी गोलरक्षक विकेश कुथुले पञ्च गरेर बचाए । आर्मीले खेलमा एक दर्जनभन्दा बढी अवसर सिर्जना ग¥यो । छैटौँ मिनेटमा आर्मीका दीपक गुरुङको प्रहार आकासियो । १५औँ मिनेटमा सन्तोष तामाङले पेनाल्टी एरियाबाट गरेको प्रहार खेर जाँदा आर्मी अग्रता लिने अवसरबाट वञ्चित भयो ।

२५औँ मिनेटमा टङ्क बस्नेतको क्रसमा टेकबहादुर बुढाथोकीले गरेको हेडर विपक्षी गोलरक्षक अभिषेक बरालले पञ्च गरेर बचाए । ४१ औँ मिनेटमा टङ्क बस्नेतको प्रहार पोस्टमा लागेर फर्कियो । ५८औँ मिनेटमा सन्तोष तामाङको प्रहार फस्र्टबारमा लागेर फर्कियो ।

शनिबारको अन्तिम सेमिफाइनल खेल झापा–११ फुटबल क्लब र सङ्कटा क्लबबीच हुनेछ । आर्मीले अब शनिबारको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । आर्मी लगातार चौथोपटक फाइनल प्रवेश गरेको हो ।

ताजा खबर