एमसीसीको अन्तर्राष्ट्रिय टेण्डरमा भाग लिन व्यवसायीलाई हिम्मत गर्न प्रधानमन्त्रीको आग्रह

२०७८ फाल्गुण २७ शुक्रबार १३:४३:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको टेण्डरमा प्रतिस्पर्धा गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन् । शुक्रवार काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासंघको २३ औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी परियोजनाको अन्तर्राष्ट्रियस्तरमा टेण्डर हुने भएकाले नेपालले पनि भाग लिनसक्ने बताए ।

उनले नेपालका निर्माण व्यवसायीलाई एमसीसीको अन्तर्राष्ट्रिय टेण्डरमा भाग लिन हिम्मत गर्न आग्रह गरे । अमेरिकी कानूनले एमसीसीलाई अन्तर्राष्ट्रियस्तरमा टेण्डर गर्नुपर्ने अवस्था रहेकाले यसमा जुनसुकै देशले प्रतिस्पर्धा गर्न सक्ने बताए । नेपाल प्रतिस्पर्धामा भाग लिएर सफल भए नेपालीहरु खुसी हुने उनले बताए ।

उनले भने, ‘अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, ग्लोबल टेण्डर हुन्छ । नेपालकाले पनि हिम्मत गरे हुन्छ यो । यो एमसीसीको बिडिङमा सफल हुनुस् । सबभन्दा पहिले हामी खुसी हुनेछौँ । अन्तर्राष्ट्रिय विडिङ हुने हुनाले अमेरिकालाई बाध्यता छ अमेरिकन कानूनले अन्तर्राष्ट्रिय विडिङ गराउनुपर्ने हुनाले जुनसुकै मुलुकका पनि यसमा आउन सक्छन् । चीनका होस् । भारतको होउन् । नेपालकै हुन सक्छन् ।’

प्रधानमन्त्रीले नेपालको निर्माण उद्योगलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने बताए । उनले निर्माण क्षेत्रमा गरिने खर्चलाई समय सापेक्ष वृद्धि गर्दै लानुपर्ने आवश्यकता रहेको बताए ।

 

ताजा खबर