निगमले भारतका सबै गन्तव्यमा पूर्ण क्षमताको उडान भर्दै

२०७८ फाल्गुण २६ बिहीबार १८:१३:०० मा प्रकाशित

सिबी अधिकारी, काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले झन्डै दुई वर्षको अन्तरालपछि भारतको मुम्बई र बैंग्लोरमा पुनः उडान सञ्चालन गर्ने भएको छ । कोभिड–१९ महामारीका कारण स्थगित भएको उक्त गन्तव्यको उडान पुनः सञ्चालन गर्न लागिएको निगमले जनाएको छ ।

निगमका प्रवक्ता अर्चना खड्काका अनुसार आगामी चैत १३ गते (मार्च २७, २०२२) देखि मुम्बईमा नियमित उडान पुनः सञ्चालन गर्न लागिएको छ । यो गन्तव्यमा साताको तीन उडान हुनेछ । काठमाडौँ–मुम्बई रुटमा बुधबार, शुक्रबार र आइतबार उडान हुनेछ । त्यसैगरी निगमले भारतकै अर्को महत्वपूर्ण गन्तव्य बैंग्लोरमा पनि चैत १५ (मार्च २९, २०२२) देखि पुनः उडान सञ्चालन गर्ने निगमका प्रवक्ता खड्काले बताइन् ।

उनकाअनुसार यो गन्तव्यमा पनि सातामा तीन उडान सञ्चालन हुनेछ । मङ्गलबार, बिहीबार र शनिबार उडान सञ्चालन गरिनेछ । कोरोना महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण २०७६ चैतदेखि स्थगित उडान फेरि सुरु हुने भएका हुन् ।

सन् २०२० मार्च २१ तारिखदेखि भारतको बैंग्लोरमा नेपाल एयरलाइन्सको उडान हुन सकेको थिए । काठमाडौँ–बैंग्लोर–काठमाडौँको उडान धार्मिक पर्यटनका दृष्टिले पनि राम्रो मानिन्छ । नेपाल एयरलाइन्सको बैंग्लोर स्टेसनका प्रबन्धक रीतादेवी राईका अनुसार नेपालबाट बैंग्लोर र बैंग्लोरबाट नेपाल आउने धार्मिक पर्यटकको सङ्ख्या ठूलो रहेको छ ।

भारतका सबै गन्तव्यमा पूर्ण क्षमताको उडान

निगमको अन्तरराष्ट्रिय गन्तव्यमध्ये भारतका तीन गन्तब्य नयाँदिल्ली, मुम्बई र बैंग्लोर महत्वपूर्ण मानिन्छ । निगमले भारतको नयाँदिल्लीमा भने महामारीताका र त्यसपछि हालका दिनमा पनि नियमित उडान सञ्चालन गरिरहेको छ । एयरबबल सम्झौताअनुरुप सीमित सङ्ख्यामा उडान भइरहेको भारतका दिल्ली र छिट्टै सञ्चालनमा आउन लागेका थप दुई गन्तव्य मुम्बई र बैंग्लोरमा पूर्ण क्षमता अर्थात पहिलाको उडान जसरी सञ्चालन गर्ने निगमको योजना छ । भारतका तीनवटै गन्तव्यमा अब पूर्ववत क्षमतामै उडान सञ्चालन हुने निगमले उल्लेख गरेको छ ।

काठमाडौँ–दिल्ली गन्तव्यमा दैनिक दुई उडान

नेपाल एयरलाइन्सले काठमाडौँ–दिल्ली गन्तव्यमा दैनिक दुई उडान गर्ने भएको छ । आगामी फागुन ३० गतेदेखि उक्त गन्तव्यमा दैनिक दुई उडान सञ्चालन गरिने निगमले जनाएको छ । भारतले आफ््ना सबै प्रकारका व्यावसायिक उडान खुला गरेसँगै निगमले दिल्लीका लागि दैनिक दुई उडान गर्ने भएको हो । अहिले भारतबाट एयर इण्डिया, इण्डिगो एयर र भिस्तारा एयरले काठमाडौँ गन्तव्यका लागि नियमित उडान गरिरहेका छन् ।

बैंककमा साताको दुई उडान

नेपाल एयरलाइन्सले थाइल्याण्डको राजधानी बैंकक गन्तव्यमा पनि साताको दुई उडान सञ्चालन गर्ने भएको छ । यसअघि सातामा एक मात्रै उडान गरिरहेको निगमले आगामी चैत ७ देखि सातामा दुई उडान गर्ने तयारी गरेको निगमका प्रवक्ता खड्काले बताइन् । निगमले भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तरराष्ट्रिय उडान गर्दै आएको छ ।

पर्यटक बढ्ने व्यवसायीको अपेक्षा

नेपालमा विदेशी पर्यटक आगमनका हिसाबले सबैभन्दा बढी नेपाल भित्रिने मुलुकमा छिमेकी मुलुक भारत पर्छ । कोभिड महामारीका कारण करिब दुई वर्षदेखि भारतीय पर्यटक उल्लेख्य सङ्ख्यामा नेपाल आउन सकेका थिएनन् । स्थल हुँदै हवाई मार्ग पनि सहज भएकाले आगामी दिनमा भारतीय नागरिक धेरै सङ्ख्यामा आउने व्यवसायीले आँकलन गर्न थालेका छन् । भारतका तीनवटै गन्तव्यबाट सिधा हवाई उडान पनि हुने भएकाले भारतीय पर्यटक बढ्ने उनीहरुको अपेक्षा छ । धार्मिक तथा मनोरञ्जनका लागि भारतीय पर्यटकको रोजाइमा नेपाल गन्तव्य पर्छ ।

नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईँले भारतका तीनवटै गन्तव्य दिल्ली, मुम्बई र बैंग्लोर गन्तव्यको उडान खोल्ने र पीसीआर हटाएर कोभिडविरुद्धको खोप लगाएका पर्यटकलाई आवतजावत गर्न दिने विषय ठूलो उपलब्धि हो भन्दै नेपालको तर्फबाट पनि कतिपय मापदण्ड सहज बनाएको खण्डमा भारतीय पर्यटकको ओइरो लाग्ने विश्वास दिलाए । नेपालको पर्यटनको भविष्य उज्ज्वल रहेको उनले बताए ।

“नेपाल सरकारको तर्फबाट पनि खोप लगाएका पर्यटकलाई आउन दिने र अनअराइभल भिसाको व्यवस्था गर्नुपर्छ, हामी निजी क्षेत्रको धारणा पनि यही हो”, उनले भने । नेपालको पर्यटन पुनरुत्थानको चरणमा नेपालले धेरै पर्यटकीय गन्तव्यको विकास गरेको छ र पर्यटकलाई ‘इन्गेज’ गराउन सहयोग पुग्ने व्यवसायीको विश्वास छ ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले नेपालको पर्यटन क्षेत्र पनि खुलिसकेको र विशेष गरी भारतका तीनवटै गन्तव्यमा नियमित उडान सञ्चालन गरिनुले नेपालको पर्यटन बजारले नयाँ फड्को मार्ने आशा व्यक्त गरे ।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२० को जनवरीमा १६ हजार ९७५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । फेब्रुअरी महिनामा पनि १९ हजार ७६६ पर्यटक नेपाल भित्रिएका छन् । यो सङ्ख्यामा पनि सबैभन्दा बढी नेपाल आउने पर्यटकमा भारतीय नै छन् । सन् २०२१ मा डेढ लाख हाराहारी र सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेको विवरण छ ।

ताजा खबर