६ हजार रुसी सैनिक मारिएको अमेरिकी अनुमान

२०७८ फाल्गुण २६ बिहीबार ११:५७:०० मा प्रकाशित

युक्रेनमा रुसले धावा बोलेपछि दुई साताको अवधिमा झन्डै पाँचदेखि ६ हजार रुसी सैनिकको मृत्यु भएको अमेरिकाले अनुमान गरेको छ । सीबीएस न्यूजका अनुसार अमेरिकी अधिकारीहरूले त्यस्तो आँकलन गरेका हुन् । मृतकको अनुमानित सङ्ख्याका आधारमा घाइते हुने सैनिकको सङ्ख्या १५ हजारदेखि १८ हजार भएको बताइएको छ ।

प्रायः युद्धमा घाइते सैनिकको सङ्ख्या मृतकको सङ्ख्याभन्दा तीनगुणा हुने गर्छ । एक अमेरिकी अधिकारीका अनुसार हताहत हुने रुसी सैनिकको अनुमानित सङ्ख्याले रुसले ठूलो क्षति बेहोर्नुपरेको देखिएको छ ।

उनले सैनिकहरूको मृत्युदरलाई दोस्रो विश्वयुद्धका केही सङ्घर्षसँग तुलना गरे । युक्रेनले १२ हजार रुसी सैनिक सङ्घर्षका क्रममा मारिएको दाबी गरेको छ। गत साता रुसले ५०० सैनिकले युक्रेनमा ज्यान गुमाएका बताएको थियो । तर युद्धका बेला दुवै पक्षले आफूअनुकूल प्रचार गर्ने हुँदा त्यस्ता दाबीहरू पुष्टि गर्न गाह्रो हुन्छ ।

ताजा खबर