युट्युबमार्फत चरित्र हत्या गर्ने परियार र चिलुवाल पक्राउ

२०७८ फाल्गुण २५ बुधबार १९:२०:०० मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीले युट्युब च्यानलमार्फत अनर्गल वक्तव्य बाजी तथा चरित्र हत्या गर्ने दुईजनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले युट्युबमार्फत भ्रामक समाचार सम्प्रेषण गरी चरित्र हत्या गर्ने नागार्जुन नगरपालिका–८ भीमढुङ्गाका हरि परियार र लमजुङ राइनास नगरपालिका घर भई तारकेश्वर शेषमती बस्ने २७ वर्षीय निशान चिलुवाललाई बुधबार पक्राउ गरेको हो ।

पक्राउ परेका परियारले ‘नेपाल मिडिया’ र चिलुवालले ‘विशाल नेपाल’ नामक युट्युब च्यानलमार्फत गम्भीर प्रकृतिको अपराध अनुसन्धानको प्रक्रियालाई समेत प्रभावित पार्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गरेकाले पक्राउ गरिएको ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए ।

उनीहरुले विद्युतीय ऐन, २०६३ अन्तर्गतको कसुर गरेकाले पक्राउ गरिएको प्रवक्ता अर्यालले बताए । पक्राउ दुवैलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

ताजा खबर