कांग्रेसले चुनाव केन्द्रित एक महिने‘ घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान गर्ने

२०७८ फाल्गुण २५ बुधबार १८:०५:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेस पार्टीले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गर्ने भएको छ । कांग्रेसले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्ने भएको हो ।

बुधबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी प्रवक्ता डा. प्रकाशशरण महतले फागुन २९ गतेदेखि चैत्र २९ गतेसम्म अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए । अभियानका क्रममा कांग्रेसले स्थानीय तह निर्वाचनमा सहभागि भई लोकतान्त्रिक अधिकार प्रयोग गर्न सम्पूर्ण मतदाताहरुलाई अपील गर्ने तथा कांग्रेसका नेता, कार्याकर्ताहरुलाई एकतावद्ध बनाएर परिचालन गर्ने उनले बताए ।

त्यस्तै सो अवधिमा ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ भन्ने नाराका साथमा पार्टीको सबै संरचनालाई पूर्णता दिइने भएको छ । प्रवक्ता महतका अनुसार कांग्रेसले हालसम्म गरेको राजनीतिक तथा आर्थिक उपलब्धीहरुलाई जनताको माझमा राख्ने, कांग्रेसले वर्तमान सरकारको नेतृत्व गर्नुपर्नाको कारण र यस अघिको सरकारले गरेका गैरसंवैधानिक काम तथा भ्रष्टाचारहरुको सम्बन्धमा जनतालाई सुसूचित गराउने लक्ष्य राखिएको छ ।

प्रवक्ता महतले एमसीसी सम्झौताको सम्बन्धमा अन्य राजनीतिक दलहरुले फैलाएको भ्रमको सम्बन्धमा पनि जनतालाई सुसूचित गर्नका लागि यस सम्बन्धमा प्रशिक्षण समेत सञ्चालन गर्ने बताए ।

एमसीसी नेपालको आवश्यकता र हितमा रहेको कुरा जनतालाई कांग्रेसले स्पष्ट रुपमा बुझाउने उनले उल्लेख गरे । पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आसन्न स्थानी तह निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धमा अहिले कांग्रेसले कुनै निर्णय नगरेको बताए । कांग्रेसको अभियानमा समेत गठबन्धनको सम्बन्धमा कुनै छलफल नहुने उनले स्पष्ट पारे ।a

ताजा खबर