निर्वाचन आयोग कांग्रेसतिर झुक्योः ओली

२०७८ फाल्गुण २५ बुधबार १६:३१:०० मा प्रकाशित

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतपत्र हरियो बनाएर निर्वाचन आयोग कांग्रेसतिर झुकेको आरोप लगाएका छन् । बुधबार मोरङको रंगेलीमा एमालेले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यसलाई सच्याउन आयोगलाई आग्रह गरेका हुन् ।

उनले मतपत्र हरियो रंगको नभइकन रातो हुनुपर्ने बताए । उनले भने, ‘बुढो रुखलाई बचाउन मतपत्र हरियो बनाउन खोजिँदै छ । पात मात्रै झरेको छैन, रुख नै सुकेको छ ।’ संसदलाई प्रभावकारी हुन नदिने, जनताका काममा अवरोध गर्ने, विरोधीसँग मिलेर सरकार ढाल्ने, अदालतमा मुद्दा हाल्ने गतिविधि आफ्नै पार्टीबाट हुन थालेपछि संसद विघटन गरिएको ओलीको भनाइ थियो ।

उनले भने, ‘कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउँदै विरोधीसँग मिलेर नयाँ सरकार बनाउने र जनताको काम हुन नदिने खेल हुन थाले । अब जनताले फैसला गर्नुपर्छ भनेर ताजा जनादेशमा मुलुकलाई लैजान संसद विघटन गरियो ।’ उनले आगामी निर्वाचनमा जनताले गर्ने फैसला स्वीकार्य हुने भन्दै आफू नेतृत्वको सरकारले मुलुकमा विकास निर्माणका धेरै काम गरेको दाबी गरे ।

अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) भ्रमको गोलो मात्रै भएको बताए । उनले माधवकुमार नेपालले पार्टी छाडेपछि आफूलाई हाइसन्चो भएकोसमेत बताए ।

ताजा खबर