अब टोखावासीलाई निःशुल्क रगत

२०७८ फाल्गुण २५ बुधबार १५:४८:०० मा प्रकाशित

काठमाडौं । काठमाडौंको टोखा नगरवासीले निःशुल्क रगत एवं रक्ततत्व पाउने भएका छन् । यसका लागि टोखा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाबीच बुधबार द्विपक्षीय सम्झौता भएको छ । अब नगरवासीले रगत परीक्षण तथा रक्तथैलीका लागि पनि कुनै शुल्क तिर्नपर्ने छैन ।

नगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाणित सरकारी कागजात (नागरिकता, मतदाता परिचय–पत्र ई) को प्रतिलिपिका आधारमा निःशुल्क रगतको सेवा उपलब्ध गराइने व्यवस्था गरिएको छ । काठमाडौँ उपत्यकामा स्थानीयवासीलाई निःशुल्क रगत उपलब्ध गराउने सो नगरपालिका दोस्रो भएको छ ।

यस अगाडि कीर्तिपुर नगरपालिकाले गत मङ्सिर ७ गतेदेखि निःशुल्क रगत उपलब्ध गराउँदै आएको छ । टोखा नगरप्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमाया डङ्गोल र नेरेसोका कार्यकारी निर्देशक उमेश ढकाल, केन्द्रीय रक्तसञ्चार सेवाका कार्यकारी निर्देशक दिव्यराज पौडेलका सेवा सञ्चालनसम्बन्धी द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सो अवसरमा नगरप्रमुख अधिकारीले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउन समझदारी भएको जानकारी दिए । रगत परीक्षण र सेवाशुल्कका लागि नगरपालिकाले पहिलो चरणमा चालु आर्थिक वर्षको रकमबाट पाँच लाख विनियोजन गरेको छ ।

सम्झौतामा रगतको आपूर्तिबमोजिम केन्द्रीय रक्तसञ्चार सेवालाई सोधभर्ना दिइने उल्लेख छ । त्यस्तै नगरपालिकाका हरेक वडाले वर्षका कम्तीमा दुईपटक रक्तदान कार्यक्रम आयोजना गरी केन्द्रीय रक्तसञ्चार सेवामा रगत आपूर्ति बढाउन सहयोग गर्नेछन् ।

ताजा खबर