ओलीको घमण्डलाई निर्वाचनमार्फत चकनाचुर पार्नुपर्छः अध्यक्ष नेपाल

२०७८ फाल्गुण २५ बुधबार १२:५५:०० मा प्रकाशित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरुबीच स्थानीय तह निर्वाचनमा मिलेर जाने सहमति भइसकेको बताएका छन् ।

बुधबारदेखि काठमाडौंमा सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले स्थानीय तह चुनावको तयारीको सन्दर्भमा सत्तारुढ दलहरुबीच मिलेर जाने सहमति भएको बताएका हुन् ।

सबै ठाउँमा मिल्न सकिदैन भने पनि पारस्पारिक लाभ कसरी लिन सकिन्छ भन्ने विश्लेषण गरेर स्थानीय तहको निर्वाचनमा परिचालित हुन सिंगो पार्टी पंक्तिलाई उनले आह्वान गरे ।

अध्यक्ष नेपालले अब सिंगो पार्टीको ध्यान स्थानीय तह निर्वाचनमा केन्द्रित हुने पनि स्पष्ट पारे । त्यसका लागि आवश्यक संगठन र योजना निर्माण गर्न जारी केन्द्रीय कमिटी बैठकले महत्वपूर्ण निर्णय लिनुपर्ने उनको भनाई थियो ।

अध्यक्ष नेपालले एमालेप्रति संकेत गर्दै आगामी निर्वाचनमा शक्तिशाली छु भन्ने भ्रम पालेर बस्नेहरुलाई कमजोर छ भन्ने पुष्टि गरेर देखाउने गरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

उनले भने,‘राष्ट्रियसभाको निर्वाचनमा हामीले केपी ओलीसँग प्रतिस्पर्धा गरेर जित हासिल गरेका थियौं । एक्लै चुनाव जित्ने स्थिति नभएपछि हामीले गठबन्धन गरेर चुनाव जित्यौं । अहिले पनि गठबन्धन कायमै छ । दलहरुबीचको गठबन्धन तोड्नका लागि भयंकर षड्यन्त्र भएको थियो । त्यो षड्यन्त्रहरुलाई हामीले विफल पार्यौं ।’

उनले एमसीसीका बारेमा अनुशासनहीन काम नगर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । उनले पार्टीको निर्णय विपरीत लेख्नेहरुलाई गल्ती सच्याउन आग्रह गरे ।

अध्यक्ष नेपालले नेपालको सन्धि ऐन, नेपालको कानुनी प्रावधान, एमसीसीको सहमति सबै कुरालाई ध्यान राखेर व्याख्यात्मक घोषणा संसद्ले पारित गरेपछि, एमसीसीको अंग बन्ने अवस्था भएपछि आफूहरुले एमसीसीलाई अनुमोदन गरेको बताए । एमसीसीसँग जोडिएका विषयलाई आफ्नो राजनीतिक प्रतिवेदनमा पनि राखेको र पुरक दस्तावेज पनि उपलब्ध गराउने उनको भनाइ छ ।


 

ताजा खबर