पाकिस्तानी प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव पेश

२०७८ फाल्गुण २५ बुधबार ०८:४२:०० मा प्रकाशित

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वास प्रस्ताव पेस भएको छ । प्रमुख प्रतिपक्षी दल पाकिस्तान मुस्लिम लिग–एन(पीएमएलएन) ले मंगलबार राष्ट्रिय सभामा प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव पेस गरेको हो । अहिले संसद नचलेकाले संविधानको धारा ५४ अनुसार अविश्वास प्रस्ताव पेस भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

धारा ५४ अनुसार राष्ट्रिय सभाका २५ प्रतिशत सदस्यले हस्ताक्षर गरी बैठक आह्वानको माग गर्न सक्नेछन् । उनीहरूले माग गरेको १४ दिनभित्रमा सभामुखले बैठक आह्वान गर्नुपर्ने छ । विपक्षी गठबन्धनको अर्को घटक पाकिस्तान पिपुल्स पार्टीका प्रवक्ता नवीद कमारले १४० जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव पेस गरिएको बताएका छन् ।

पाकिस्तानको संविधानअनुसार प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पारित हुनका लागि सामान्य बहुमत भए पुग्छ । ३४२ सदस्य रहेको राष्ट्रिय सभामा अविश्वास प्रस्ताव पारित हुनका लागि १७२ भोट आवश्यक पर्छ खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ(पीटीआई) सँग राष्ट्रिय सभामा १५५ सिट मात्रै छ । उनले केही साना दलसँग मिलेर सरकार बनाएका हुन् ।

ताजा खबर