थ्रीस्टारलाई हराउँदै सङ्कटा क्लब सेमिफाइनलमा प्रवेश

२०७८ फाल्गुण २४ मंगलबार २१:१६:०० मा प्रकाशित

झापा । काठमाडौँको सङ्कटा क्लब झापाको बिर्तामोडमा जारी नेपाल आइस पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रङ्गशालामा मंगलबार भएको खेलमा थ्रीस्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सङ्कटाले सेमिफाइनल यात्रा तय गरेको हो । आजको खेलको प्लेयर अफ द म्याच सङ्कटाका गोलरक्षक रोहित कार्की घोषित भएका छन् ।

उनले नगद नौ हजार ९९९  पाएका छन् । खेलपछि भएको पोस्ट म्याच कन्फरेन्समा थ्रीस्टारका प्रशिक्षक रवीन्द्र सिल्पकारले लिगपछि लामो ग्यापमा मैदानमा उत्रिँदा तालमेल हुन नसकेको बताए । विजयी टोली सङ्कटाका प्रशिक्षक सल्यान खड्गीले खेल निकै प्रतिस्पर्धात्मक भएको बताउँदै सङ्कटाले पहिलो हाफमा गरेको गोल नै ‘टर्निङ प्वाइन्ट’ भएको जानकारी दिए ।

सङ्कटाको जितका लागि विदेशी खेलाडी यानिक र फोडे फोफोनाले गोल गरे । खेलको २५ औँ मिनेटमा डिबक्सभित्रबाट यानिकले प्रहार गरेको गोलले पोस्टको दिशा पायो । पहिलो हाफमा १–० को अग्रता बनाएको सङ्कटाले दोस्रो हाफमा थप एक गोल ग¥यो । खेलको ६३ औँ मिनेटमा फोडे फोफोनाले अर्को गोल थपे ।

थ्रीस्टारले भने सान्त्वना गोलसमेत फर्काउन सकेन । खेलमा थ्रीस्टारले पाएका अवसर सदुपयोग गर्न सकेन । खेलको दोस्रो मिनेटमा रितिक खड्काले डिबक्सबाट गरेको हेडर विपक्षी गोलरक्षक रोहित कार्कीले सहजै विफल बनाए । खेलको ३६ औँ मिनेटमा सङ्कटाका सुवास गुरुङको कर्नरमा यानिकले गरेको हेडर बार नजिकैबाट बाहिरियो ।

४६ औँ मिनेटमा थ्रीस्टारका रितिक खड्काले डिएरियाबाट गरेको प्रहार विपक्षी गोलरक्षकले बचाउ गरे । खेलको ७० औँ मिनेटमा सङ्कटाका उत्तम राईले गरेको प्रहार विपक्षी गोलरक्षक प्रिसोले बचाउ गरे ।

७५ औँ मिनेटमा थ्रीस्टारका सञ्जोक राईले गरेको हेडर विपक्षी गोलरक्षकले सहजै नियन्त्रणमा लिए । बुधबारको क्वार्टर फाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र भारत दार्जिलिङको एम एफसीबीच हुनेछ । आयोजकले आज अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर महिला दर्शकलाई प्रवेश निःशुल्क गरेको थियो ।

ताजा खबर