एमसीसीबारे सत्यतथ्य उजागर गर्न कार्यकर्तालाई गृहमन्त्रीको आग्रह

२०७८ फाल्गुण २४ मंगलबार १९:१८:०० मा प्रकाशित

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी राष्ट्रको हितमा हुँदाहुँदै पनि यसबारे अनेक भ्रम फिँजाइएकाले कार्यकर्ताले यसबारे जनतामाझ प्रष्ट पार्नुपर्ने बताएका छन् ।

उनले एमसीसीबारे जनतामा फैलाइएको भ्रम चिर्न कार्यकर्तालाई आग्रह गरेका हुन् । मंगलबार नेपाल प्रेस युनियन रुपन्देहीले स्थापना गरेको जीपी कोइराला स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा गृहमन्त्री खाँणले एमसीसी अनुमोदन गरेकै कारण निर्वाचनमा हुने क्षतिलाई रोक्नका लागि मतदातामाझ प्रष्ट पार्नु जरुरी रहेको बताए ।

उनले भने, “सरकारमा हुँदा होस् वा प्रतिपक्षमा हुँदा होस्, कांग्रेस एमसीसीको पक्षमा उभिएर संसद्बाट अनुमोदन गर्न सफल भयो ।” गृहमन्त्री खाँणले सञ्चारकर्मीलाई पनि एमसीसीबारे सत्यतथ्य उजागर गर्न आग्रह गर्दै सरकारमा रहेका दल र तिनका नेताहरुले नै एमसीसीबारे भ्रम फैलाएको बताए । उनले संसदले अनुमोदन गरेको व्याख्यात्मक घोषणामा एमसीसीमै भएकै कुरा उल्लेख भएको स्पष्ट पारे ।

गृहमन्त्री खाँणले आगामी निर्वाचन कांग्रेसले नजित्ने हो भने मुलुक अँध्यारो युगतर्फ प्रवेश गर्ने बताउँदै भने, “लोकतन्त्रको रक्षा र नागरिक तथा प्रेस स्वतन्त्रताका लागि पनि कांग्रेसको जित आवश्यक छ ।”

उनले राजनीतिको मूलधार बाहिर रहेका शक्तिलाई पनि संविधान स्वीकार गरेर मूलधारमा आउन आग्रह गरे । सरकार त्यस्ता शक्तिसँग पनि सहकार्य गर्न तयार रहेको बताउँदै उनले मूलधारमा नआएका शक्तिलाई पनि अहिले राज्यले सुरक्षाको प्रबन्ध गरिरहेको स्पष्ट पारे ।

उनले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता कुनै हालतमा सरकारले निषेध नगर्ने भन्दै सञ्चार क्षेत्रसँग सम्बन्धित कानूनमा कुनै संशोधन आवश्यक भए पनि सरकार त्यसका लागि तयार रहेको बताए । कार्यक्रममा जीपी कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय माधव नेपाल र हरिश ढकाललाई पुरस्कृत गरिएको थियो । गृहमन्त्री खाँणले जनही २५ हजार राशिको पुरस्कार प्रदान गरे ।

ताजा खबर