राष्ट्र निर्माण एमालेको प्राथमिकतामाः अध्यक्ष ओली

२०७८ फाल्गुण २४ मंगलबार १३:४९:०० मा प्रकाशित

गण्डाी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभिभारा आफ्नो दलको प्राथमिकता रहेको बताएका छन् । नेकपा एमाले गण्डकी प्रदेश कमिटिद्वारा मंगलबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले एमालेका कार्यकर्ता पद तथा ओहोदाका लागि नभइ समाज निर्माणमा क्रियाशील हुनुपर्ने बताए ।

जनतालाई मनपर्ने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिँदै अध्यक्ष ओलीले सामाजिक न्याय र समानताका क्षेत्रमा पार्टी निरन्तर लागिरहेको बताए । आफ्नो दल लोकतन्त्रको मूल्य मान्यता, स्वच्छता, पारदर्शीता आदिलाई आत्मसात् गर्दै अघि बढिरहेको भन्दै उनले एमालेको विचार, व्यवहार र निष्ठा अन्यसँग तुलना गर्न नमिल्ने जिकिर गरे ।

विभिन्न दलबाट एमाले प्रवेश गरेका कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष ओलीले पार्टीको सिद्धान्त बमोजिम देश र जनताका पक्षमा क्रियाशील हुन आग्रह गरे । अन्तर्राष्ट्रिय नारी दिवसबारे चर्चा गर्दै अध्यक्ष ओलीले नेपालमा महिला सशक्तिकरण बढेको र आफूलाई प्राप्त जिम्मेवारीलाई उनीहरूले सफलताका साथ बहन गरिरहेका बताए ।

 

ताजा खबर