झापा गोल्डकपमा एपीएफलाई हराउँदै सातदोबाटो सेमिफाइनलमा

२०७८ फाल्गुण २३ सोमबार १९:३६:०० मा प्रकाशित

झापा । सातदोबाटो युथ क्लब विर्तामोडमा जारी झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । डोमालाल रङ्गशालामा सोमबार भएको क्वाटर फाइनल प्रतिस्पर्धामा सातदोबाटो युथ क्लबले एपीएफ फुटबल क्लबलाई २–१ को गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । सातदोबाटोको जितका लागि खेलको ८२औँ मिनेटमा सुशील राईले गोल गरेका थिए ।

८५औँ मिनेटमा नीरज चौधरीले सातदोबाटोको अग्रतालाई दोब्बर बनाए । एपीएफका लागि खेलको इन्ज्युरी समयमा दिपेश धिमालले सान्त्वना गोल फर्काएका थिए ।

जितसँगै सातदोबाटो क्लब पाँचौँ संस्करणको नेपाल आइस झापा गोल्डकपको अन्तिम चारमा पुगेको छ । सातदोबाटोको जीतका लागि पहिलो गोल गर्ने राई सोमबारको खेलको म्यान अफ द म्याच भए ।

उनले नगद नौ हजार ९९९ प्राप्त गरे । मङ्गलबारको अर्को क्वार्टर फाइनल खेल सङ्कटा क्लब र थ्रीस्टर क्लबबीच हुने आयोजक समितिका महासचिव गजेन्द्रबहादुर पौडेलले बताए । सङ्कटाले नेपाल पुलिस क्लबलाई पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको हो भने थ्रीस्टार सोझै क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।

ताजा खबर