भाडा समायोजन गर्न यातायात व्यवसायीले सरकारलाई दबाब दिने

२०७८ फाल्गुण २३ सोमबार १८:५७:०० मा प्रकाशित

काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले पेट्रोलियम पदार्थको मूल्य अत्याधिक बढेको भन्दै तत्काल यातायात भाडा समायोजन गर्न माग गरेको छ । महासङ्घले सोमबार पत्रकार सम्मेलन गरी भाडा समायोजन नगरे आगामी चैत १ गतेदेखि आन्दोलनमा उत्रने बताएको हो ।

सरकारले गत असार २८ गते सार्वजनिक यातायातको भाडा समायोजन गरेको थियो । भाडा समायोजनयता डिजेलको मूल्यमा प्रतिलिटर २६ र पेट्रोलको मूल्य प्रतिलिटर ३९ रुपैयाँ वृद्धि भएको छ । महासङ्घले पेट्रोलियम पदार्थमा प्रतिलिटर पाँच रुपैयाँ घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने अवस्था भए पनि इन्धनको मूल्यमा उच्चवृद्धि हुँदासमेत सरकारले भाडा समायोजन गर्न चासो नदेखाएपछि आन्दोलित हुनुपरेको जनाएको छ ।

महँगोमा इन्धन खरिद गरेर घाटामा सेवा दिँदा यातायात व्यवसायीले ठूलो आर्थिक नोक्सानी व्यहोरेको महासङ्घका महासचिव भरत नेपालले बताए । नेपाल आयल निगमले गत बिहीबार पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । अहिले नेपालमा डिजेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ र पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ । यातायात क्षेत्रको सुधारका लागि महासङ्घले दिएको सुझावको सरकारले बेवास्ता गरेको भन्दै उनले आगामी चैत १ गतदेखि दबाबमूलक कार्यक्रम सार्वजनिक गरिने बताए ।

ताजा खबर