माओवादी केन्द्र पदाधिकारी चयन गर्न असफल

२०७८ फाल्गुण २३ सोमबार १३:५५:०० मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्र पदाधिकारी चयन गर्न असफल भएको छ । समय अभाव भन्दै माओवादीले पदाधिकारी चयनलाई पछाडि सारेको हो । स्थायी कमिटी, पोलिटब्युरो लगायतको पार्टीको संरचना पनि स्थानीय तहको निर्वाचनपछि मात्रै चयन गर्ने माओवादी केन्द्रले तयारी गरेको बताइएको छ ।

यसैबीच सोमबार बसेको केन्द्रीय समिति बैठकले ९७ जना केन्द्रीय सदस्य थप गरेको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । अध्यक्ष प्रचण्डकी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यसहित ९७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो । यसअघि पार्टीको पुसमा भएको आठौं महाधिवेशनले २४६ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो ।

पुस १९ गते बसेको केन्द्रीय कमिटीको बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष चयन गरेको थियो । त्यसबाहेकका पदाधिकारीमा आकांक्षी धेरै भएकाले प्रचण्डलाई पदाधिकारी चयनमा सकस भएको छ ।

सोमबारको बैठकमा अध्यक्ष प्रचण्डले एमसीसीमाथि नेताहरुको फरक मत पार्टीको सम्पत्ति भएको बताएका छन् । देव गुरुङ, कृष्णबहादुर महरा र गिरिराजमणि पोखरेलले एमसीसीमा लिखित असहमति राखेपछि प्रचण्डले यस्तो बताएका हुन् । उनले मतभेदबारे स्थानीय तहको निर्वाचनपछि छलफल हुनेसमेत बताएका छन् । यथास्थितिमा एमसीसी अनुमोदन नगर्ने महाधिवेशनको निर्णय विपरीत संसदबाट एमसीसी अनुमोदन गरिएको भन्दै माओवादी भित्र तीव्र मतभेद छ ।

 

ताजा खबर