झापा गोल्डकपमा पुलिसलाई हराउँदै सङ्कटा विजयी

२०७८ फाल्गुण २२ आइतबार २१:४६:०० मा प्रकाशित

विर्तामोड । विर्तामोडस्थित डोमालाल रङ्गशालामा शनिबारदेखि सुरु भएको पाँचौँ संस्करणको झापा गोल्ड कपमा आइतबार सङ्कटा क्लब विजयी भएको छ । नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सङ्कटा विजयी भएको हो ।

विजयीसँगै सङ्कटा क्वार्टर फाइनलमा प्रवेश गरेको छ । खेलमा सङ्कटाका उत्तम राईले ६५औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले फोडे फोफोनाको क्रसलाई हेडमार्फत गोलमा परिणत गरेका थिए ।

खेलको सुरुवाती समयदेखि नै दुवै टोलीले आक्रमक खेल खेलेका थिए । पुलिसले गरेका केही आकर्षक आक्रमण सङ्कटाका गोलरक्षक रोहित कार्कीले उत्कृष्ट बचाउ गरे । पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो । दोस्रो हाफमा दुवै टोली आक्रमक बने पनि स्कोर भने सङ्कटाले मात्र गर्न सफल भयो ।

खेलको २४औँ मिनेटमा पुलिसका सन्तोष हेमरमको पासमा रवि पासवानको हेडर पोस्ट नजिकैबाट बाहिरियो । २६ औँ मिनेटमा सौजन राईको फ्रिकिक सङ्कटाका गोल रक्षक रोहित कार्कीले विफल तुल्याए ।

५०औँ मिनेटमा पुलिसका कप्तान जुमानु राईले ‘वान भर्सेस वान’ मा गोल गर्न नसक्दा अग्रता बनाउन सकेन । ५४ औँ मिनेटमा कप्तान राईले प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरियो ।

१६ औँ मिनेटमा सङ्कटाका लक्ष्मण रुचालको फ्रिकिक पुलिसका गोल रक्षक सञ्जित श्रेष्ठले विफल बनाए । २२औँ मिनेटमा सङ्कटाका उत्तम राईले डिबक्स एरियाबाट गरेको प्रहार देब्रे बार नजिकैबाट बाहिरियो । सङ्कटाले खेलमा एक दर्जनभन्दा बढी प्रहारलाई गोलमा सदुपयोग गर्न सकेन । आइतबारको खेलको ‘प्लेयर अफ द म्याच’ विजेता टिम सङ्कटाका फोडे फोफोना घोषित भए । उनले नगद नौ हजार ९९९ प्राप्त गरे ।

फागुन ३० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार पाउनेछ भने उपविजेताले छ लाख पाँच हजारमा चित्त बुझाउनुपर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् ।

उत्कृष्ट मिडफिल्डर, डिफेन्डर, स्ट्राइकररले नगद २१ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछ । पाँचौँ संस्करणको झापा गोल्डकपको मुख्य प्रायोजक चौधरी ग्रुपको नेपाल आइस हो ।

प्रतियोगिताअन्तर्गत सोमबारको क्वार्टर फाइनल खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र सातदोबाटो युथ क्लबबीच हुने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले बताए । एपीएफ सोझै क्वार्टर फाइनलमा पुगेको हो । सातदोबाटोले जावलाखेललाई हराउँदै क्वार्टर फाइनलमा प्रवेश गरेको थियो ।

ताजा खबर