झापा गोल्डकपमा सातदोवाटोको विजयी शुरुवात

२०७८ फाल्गुण २१ शनिबार २२:४२:०० मा प्रकाशित

झापा । पाँचौ झापा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सातदोवाटो युथ क्लब काठमाडौंले विजयी शुरुवात गरेको छ । झापाको विर्तामोडस्थित डोमालालव राजवंशी रंगशालामा शनिबार भएको खेलमा जाउलाखेल युथ क्लबलाई सातदोवाटोले टाईब्रेकरमा ४–२ गोल अन्तरमा पराजित गरेको हो ।

निर्धारित  ८० मिनटको खेलमा २–२ गोलको बरावरी भएपछि टाईव्रेकरमा खेल गएको थियो । जाउलाखेलका विदेशी खेलाडी जुनियरले १२ औं र ३४ औ मिनटमा गोल गरेका थिए । उता सातदोवाटाको मार्टिन्सले ४५ औं र आशिस राईले ४८ औं मिनटमा गोल गरेका थिए ।

टाईव्रेकरमा सातदोवाटोका आकाश बुद्ध मगर, प्रशान्त अवस्थी, मान बहादुर तामागं र मार्टिन्सले गोल गरे भने जाउलाखेलका जुनियर, सुरज जिउ ठकुरीले मात्र गोल गरे । राजेन्द्र राउलको प्रहार विपक्षी गोल किपर निशान्त थापा मगरले रोकेका थिए भने गौरब श्रेष्ठको प्रहार पोष्टबाट बाहिरिएको थियो ।

खेलको म्यान अफ द म्याच जाउलाखेलका किपर निशान्त थापा मगर भए । उनले नगद ९,९९९ रुपैयाँ प्राप्त गरे । विजेताले नगद १२ लाख ५५ हजार रुपैयाँ र ट्रफी उपविजेताले नगद ६ लाख हात पार्नेछन् । आइतबारको खेल नेपाल पुलिसविरुद्ध संकटा क्लब विच हुने आयोजकले जनाएको छ ।

त्यसअघि प्रतियोगिताको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । त्यसक्रममा उनले खेलकुद क्षेत्रलाई राजनीतिबाट पृथक राख्नुपर्ने बताएका थिए । खेलकुद क्षेत्रको विकास सबैको चासो, चिन्ता र उन्नतिको विषय भएको उनले भनाई थियो । उनले भने, “खेलमा दक्षता प्रयोग गर्नुहोस्, कपट होइन, दक्षताबाटै खेल जित्न म आग्रह गर्छु ।”

ताजा खबर