मुस्ताङमा फेरि हिमहिरो

२०७८ फाल्गुण २१ शनिबार २०:१६:०० मा प्रकाशित

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिकास्थित मानापाथी हिमालबाट खसेको हिमपहिरोमा परेर शनिबार १५ वटा चौरी मरेका छन् । छिप्लुङ खर्कमा खसेको हिमपहिरोमा थासाङ गाउँपालिका–२ कोवाङकी सुशीला गौचन र नरप्रसाद गौचनको संयुक्त गोठमा रहेका १५ वटा चौरी मरेका हुन् ।

शनिबार बिहानको हिमपहिरोमा परेर थप १० वटा चौरी हराएका कृषक गौचनले जानकारी दिए । “चौरी बास बसेको खर्कमा बिहान ३ बजे हिउँपहिरो खसेको थियो”, उनले भने, “हिउँले पुरिएर चौरी मरेका हुन् ।” चौरी खर्कमा राखेर गोठाला कोवाङ झरेका थिए । बिहान गोठाला जाँदा चौरी मरेका भेटिएपछि खबर गरेका थिए । प्रहरी, कृषक र पशु सेवा प्राविधिकको टोलीले क्षतिको विवरण सङ्कलनका लागि घटनास्थलतर्फ गएका छन् ।

हिउँदमा जाडो छल्न बेशी झरेका चौरी गोठ गर्मी बढेपछि लेकतर्फ उकालिएको थियो । मानापाथी हिमालको फेदीमा रहेको छिप्लिङ, हेपिम, हुम्लुङ, पड्के, ह्याङ्लिङ, सरेका खर्कमा हिमपहिरो खस्ने गर्छ ।

गत कात्तिक २९ गते पनि मानापाथी हिमालबाट हिमपहिरो खसेको थियो । मुस्लोसहित हिउँ पहिरो खसेपछि भाग्ने क्रममा कोवाङका अमरसिंह माविका नौ शिक्षक विद्यार्थी घाइते भएका थिए । नाउरीकोटका सकेन्द्र गौचन र भीम थकालीका २१ वटा याक र नाक मरेका थिए ।

ताजा खबर