अस्ट्रेलियाका चर्चित पूर्व बलर शेन वार्नको निधन

२०७८ फाल्गुण २० शुक्रबार २०:४३:०० मा प्रकाशित

अस्ट्रेलियाका पूर्व लेग स्पिनर शेन वार्नको सम्भावित हृदयाघातका कारण निधन भएको छ । संसारकै महान् क्रिकेट खेलाडीहरूमा पर्ने वार्न ५२ वर्षका थिए । उनले टेस्ट क्रिकेटमा १५ वर्षभित्र १४५ खेलमा ७०८ विकेट लिएका थिए–जुन हालसम्मकै दोस्रो सबभन्दा धेरै हो ।

उनको व्यवस्थापन कम्पनीका अनुसार शुक्रबार उनलाई थाइल्यान्डको कोह सामुइस्थित उनकै घरमा अचेत अवस्थामा पाइएको थियो । मेडिकल स्टाफको निकै प्रयासले पनि उनलाई बचाउन नसकिएको उसले उल्लेख गरेको छ ।

उनले सन् १९९९ मा एक दिवसीय विश्वकप उपाधि जितेका थिए भने सन् १९९३ देखि सन् २००५ बीचमा खेलेको १९४ एकदिवसीय खेलहरूमा २९३ विकेट लिएका थिए । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन् २००७ मा सन्यास लिएपछि उनले सन् २०१३ सम्म विभिन्न फ्रान्चाइज ट्वेन्टी ट्वेन्टी खेल खेलेका थिए । पछिल्लो समय उनी कमेन्टेटरको रूपमा नियमित देखा पर्ने गर्थे।

ताजा खबर