एमसीसी खारेज गर्नुपर्छः विप्लव

२०७८ फाल्गुण २० शुक्रबार २०:००:०० मा प्रकाशित

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदबाट अनुमोदन भएको एमसीसी सम्झौता कुनै हालतमा कार्यान्वयन हुन नदिने चेतावनी दिएका छन् ।

शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले त्यसका लागि एकतावद्ध भएर अघि बढ्न सबै देशभक्त, क्रान्तिकारीहरुलाई आह्वान गरेका छन् । एमसीसी पारित गरेसँगै संसदको औचित्य समाप्त भएको भन्दै महासचिव चन्दले अब देशलाई जोगाउने दायित्व नेपाली जनताको काँधमा आएको बताए ।

उनले प्रचण्ड–माधव नेपालले एमसीसी संसदबाट पारित गराएर देश र जनताप्रति ठूलो घात गरेको आरोप लगाए । एमसीसी खारेज गर्नुपर्ने र त्यसका लागि आफूहरुलाई साथ दिन विप्लवले आग्रह गरेका छन् ।

उनले भने, ‘कम्युनिष्ट भनिने नेताहरु, एमालेका नेताहरु, माओवादीका नेताहरुले देशलाई संसदबाट बेचिरहेका छन् । आजको दिनमा प्रचण्डको अनुहार सबैभन्दा हेर्न लायक छ । गरिव देशहरुमाथि यस्तो काम गर्नेछ । नेपाली जनताले एमसीसीको विरोध गरिरहेका छन् । हरेक पार्टी भित्र यसको विरोध भइरहेको छ । जनताले खारेजको माग गरेका छन् । तर नेपालका संसदहरुले देश बेचेर खान्छन । त्यो सार्वभौम संसद हो । यो संसदको औचित्य सकियो । प्रचण्ड र माधव नेपालहरुले नेपाली जनतामाथि सबैभन्दा बढी घात गरे । एमसीसी लागू हुने छैन । त्यो लागू हुन दिँदैनौं । एमसीसी गुमनाम लागु हुन्छ भन्नु मुर्खता हो ।’

नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेलले एमसीसी राष्ट्रघाती भएको उल्लेख गर्दै त्यसलाई खारेज गर्न पहल गर्न सबै देशभक्त, क्रान्तिकारीहरुलाई आह्वान गरे । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी कार्यान्वयनमा आएमा नेपालको हालत युद्धरत मुलुकहरु इराक, सिरिया, अफगानिस्तानको जस्तो हुने बताए ।

उनले एमसीसी राष्ट्रधाती सम्झौता भएको उल्लेख गर्दै त्यसको प्रतिवादमा उत्रन सबैलाई अपील गरे । अध्यक्ष केसीले अमेरिकीको समर्थनमा निर्वाचन जित्नका लागि ठूला राजनीतिक दलहरुले प्रतिस्पर्धा गरेर एमसीसीजस्तो राष्ट्रघाती सम्झौंता पारित गराएको आरोपसमेत लगाए ।


 

ताजा खबर