हाम्रो पार्टीमा व्यक्तिवादी हाबी भयोः नारायणकाजी

२०७८ फाल्गुण २० शुक्रबार १७:२२:०० मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको बताएका छन् । शुक्रबारदेखि सुरु भएको पार्टी केन्द्रीय समिति बैठकमा लिखित धारणा प्रस्तुत गर्दै श्रेष्ठले पार्टी अध्यक्ष प्रचण्डतर्फ संकेत गर्दै यस्तो बताएका हुन् ।

उनले पार्टी प्रचण्ड र आफ्नो साढे दुई दशक लामो सम्बन्ध गम्भीर मोडमा पुगेको पनि बताएका छन् ।श्रेष्ठले पार्टीभित्र दलाल पूँजीपतिहरूसँग साँठगाँठ गर्ने प्रवृत्ति मौलाएको आरोप पनि लगाए । नेता श्रेष्ठले अध्यक्षले नै आफूलाई पार्टी छाड्न भनेको गुनासो समेत गरेका छन् ।

उनले भने, ‘पार्टीमा नोकरशाही, पूँजीपति तथा दलालहरूसँग साँठगाँठ गर्ने प्रवृत्ति बढेको छ । नेतृत्व नै चरम व्यक्तिवादी बनेको छ ।’ प्रचण्डले एमसीसीकाबारेमा पार्टीको धारणा सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा कसैलाई पार्टी छाड्न मन लागे नरोक्ने बताएका थिए । श्रेष्ठले पार्टीको मुख्य समस्याका रूमा वैचारिक संस्कृति अभाव रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘ऐतिहासिक मोडमा कसैले गम्भीर गल्ती नगरौँ । हाम्रो मुख्य समस्या वैचारिक संस्कृतिको भयो । हाम्रो पार्टीमा व्यक्तिवादी हाबी भयो ।’ एमसीसी संसदबाट अनुमोदन भएको भन्दै श्रेष्ठ अध्यक्ष प्रचण्डसँग असन्तुष्ट बनेका छन् ।

यसबीचमा उनले पार्टीका एमसीसी विरोधी नेताहरुसँग छलफल गरिरहेका छन् भने पार्टी अध्यक्षसँग पनि पटक पटक छलफल भइसकेको छ । त्यस्तै उनले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग पनि छलफल गरेका छन् ।

ताजा खबर