मानव बेचबिखन तथा ओसारपसारमा संलग्न लामा पक्राउ

२०७८ फाल्गुण २० शुक्रबार १२:११:०० मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा सम्लग्न एक व्यक्तिलाई पक्राउ गरेको छ । मिर्गौला झिकेर बेच्न उद्देश्यले आर्थिक प्रलोभनमा पारेर दुईजनालाई काठमाडौँ महानगरपालिका–१६ माछापोखरीस्थित न्यू दक्षिणकाली होटलमा ल्याएर राखेको अवस्थामा बालाजुस्थित महानगरीय प्रहरी वृत्तको टोलीले मकवानपुर हेटौँडाका मोती लामालाई बुधबार पक्राउ गरेको हो ।

एउटा मिर्गाैला झिक्दा खासै फरक नपर्ने र आठ लाख कमाइ हुन्छ भनी दुईजनालाई ललाइफकाइ माछापोखरीको होटलमा ल्याएर राखेको अवस्थामा लामालाई पक्राउ गरिएको काठमाडौँ महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

प्रहरीले भारत लैजान ठीक पारिएका उनीहरूलाई उद्धार पनि गरेको थियो । पक्राउ परेका लामालाई मानव बेचबिखन तथा ओसारपसार उद्योगमा काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको बताइएको छ ।

ताजा खबर