अस्पतालको उपचार कक्षमै भालु पसेपछि ...

२०७८ फाल्गुण २० शुक्रबार १०:२०:०० मा प्रकाशित

ताप्लेजुङ । जिल्ला अस्पताल ताप्लेजुङको उपचारकक्षभित्रै भालु पसेको छ । गएराति अस्पतालको प्रसूति कक्षमा भालु पसेको अस्पतालले जनाएको छ । राति साढे ११ बजेको समयमा उपचारकक्षमा भालु देखिएको थियो । बिरामी नभएको उपचारकक्षमा भालु भेटिएपछि प्रहरीको सहयोगमा ढोका तानेर थुनिएको र अहिले सोही कोठामै नियन्त्रणमा रहेको अस्पतालका चिकित्सक सोनिङ लामाले जानकारी दिए ।

उनका अनुसार अस्पतालको पछाडिको भागबाट ओहोरदोहोर गर्ने छोटो बाटोबाट राति अचानक भालु पसेको हो । सुरक्षित अवस्थामा रहेको भालुलाई उद्धार गर्ने तयारी भइरहेको छ । उद्धारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषसँग समन्वय भइरहेको जनाइएको छ ।

उद्धारका लागि आवश्यक प्राविधिक समूह र बेहोस बनाउने औषधि जथाभावी नपाइने भएकाले कोषसँग समन्वय गरिरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का वार्डेन रमेश यादवले जानकारी दिए । संरक्षण क्षेत्रको कार्यक्षेत्रभित्र नपर्ने भए पनि डिभिजन वन कार्यालयसँगै रहेर उद्धारका लागि विभिन्न क्षेत्रसँग समन्वय गर्ने कार्यमा सघाइरहेको यादवको भनाइ छ । चिसोका कारण माथिल्लो क्षेत्रबाट न्यानो खोज्दै तल्लो क्षेत्र झर्ने क्रममा सदरमुकामसम्म भालु आइपुगेको अनुमान गरिएको छ । 
 

ताजा खबर