करेन्ट लागेर वडासदस्यको मृत्यु

२०७८ फाल्गुण २० शुक्रबार ०९:०४:०० मा प्रकाशित

तनहुँ । तनहुँमा करेन्ट लागेर शुक्रबार वडासदस्य ६८ वर्षीय ओमबहादुर नेपालीको मृत्यु भएको छ । नेपाली कांग्रेस व्यास नगरपालिका–१ का वडासदस्य नेपालीको खोलाबाट पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

छाब्दीखोलाबाट मोटरपम्प जोडेर पानी तान्ने सिलसिलामा अचानक करेन्ट लाग्दा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । तरकारी बारीमा सिँचाइ गर्नका लागि छाब्दीखोलाबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा नेपालीको मृत्यु भएको उनले बताए ।

नेपाली एक स्पष्टवक्ता, प्रजातन्त्रवादी, दलित मुक्तिका लागि सदा सङ्घर्षरत व्यक्तिको निधनले स्तब्ध बनाएको छिमेकी एवं आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए ।

ताजा खबर