पुटिनद्वारा युक्रेनी फौजमाथि आधारहीन आरोप

२०७८ फाल्गुण २० शुक्रबार ०८:१६:०० मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा गरेको आक्रमणको सशक्त प्रतिरक्षा गर्दै योजनाअनुरूप अगाडि बढिरहेको बताएका छन् । रुसी र युक्रेनीहरू एउटै रहेको आफ्नो विश्वास नछोड्ने तर्क गर्दै उनले युक्रेनलाई रुसविरोधी बनाउने प्रयास पश्चिमाहरूले गरिरहेको आरोप लगाए । पुटिनले युक्रेनी फौजमाथि थुप्रै आधारहीन आरोप पनि लगाए ।

यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनलाई एक्लाएक्लै वार्तामा बस्न अपील गरेका थिए । विमानहरू दिनूस् भन्दै जेलेन्स्कीले थप सैन्य सहायता गर्न पश्चिमा देशहरूलाई आग्रह पनि गरेका छन् । पुटिनले उनका फ्रेन्च समकक्षी एमानुएल माक्रोँसँगको कुराकानीमा युक्रेनलाई असैनिकृत गरिदिने र तटस्थ बनाइदिने आफ्नो उद्देश्य सफलतापूर्वक सम्पन्न हुने बताएका छन् ।

उनीहरूबीच भएको टेलिफोन कुराकानीबारे दिइएको विवरणमा युक्रेनद्वारा वार्तामा गरिने ढिलाइले केवल रुसका मागहरू बढ्दै जाने पुटिनले बताएको उल्लेख छ । साथै पुटिनले बुधबार माक्रोँले गरेको एक सम्बोधनप्रति आफ्नो विमति जनाएका थिए । सम्बोधनमा माक्रोँले युद्ध सुरु गर्न केवल पुटिनमात्र जिम्मेवार रहेको बताएका थिए ।

ताजा खबर