झापा गोल्ड कपको तयारी पूरा

२०७८ फाल्गुण १९ बिहीबार २०:११:०० मा प्रकाशित

झापा । मोफसलकै लोकप्रिय र प्रतिष्ठित फुटबल प्रतियोगिता नेपाल आइस पाँचौँ झापा गोल्ड कप, २०७८ को तयारी पूरा भएको छ । बिर्तामोडमा रहेको डोमालाल रङ्गशालामा यही फागुन २१ देखि ३० गतेसम्म सञ्चालन हुने खेललाई उत्कृष्ट, भव्य र परिस्कृत बनाउने उद्देश्यले सम्पूर्ण तयारी पूरा भएको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

प्रतियोगितालाई सफल बनाउनका लागि जिल्लाभर स्वागत गेट निर्माण गरिएको छ भने बिर्तामोड नगरपालिका आसपास मात्र एक दर्जन गेट बनाइएको गोल्ड कप सञ्चालन समितिका संयोजक विनोद बस्नेतले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा घरेलु टोली झापा–११ सहित ए डिभिजन क्लब नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, थ्रीस्टार, सङ्कटा, सातादोबाटो र जावलाखेल युथ क्लब सहभागी हुनेछन् । गोल्डकपमा दुई टिम एफसी दार्जिलिङ र आरपी एफसी सिक्किमसहित १० टिम रहने उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।

‘हाम्रो गौरव हाम्रो मान, झापा गोल्ड हाम्रा शान’ भन्ने नारासहित सञ्चालन हुने पाँचौँ झापा गोल्ड कपको औपचारिक मस्कटका रूपमा हात्तीको छावालाई प्रतिनिधित्व गराइएको छ । छावाले फुटबल प्रहार गर्दै गरेको प्रतीकका रूपमा मस्कट निर्माण गरिएको छ ।

आज गोल्ड कपका लागि तयारी गरिएको जर्सीसमेत झापा जिल्ला खेलकुद सङ्घका पूर्वअध्यक्ष जलकुमार गुरुङ र गोल्ड कप समितिका पूर्वअध्यक्ष महेन्द्र गिरीले सार्वजनिक गरेका छन् ।

गोल्ड कपलाई एउटा सामाजिक तथा स्थापित संस्थाका रूपमा अगाडि बढाउन र जिल्लामा नै अगुवा संस्थाका रूपमा चिनाउन सबैखाले सामाजिक अभियानसँग जोडेर लगिएको अध्यक्ष बस्नेतको भनाइ छ । उनले प्रतियोगितालाई सफल बनाउनका लागि झापाली उद्योग, व्यवसायी र खेलप्रेमी महानुभाव, पत्रकारसँग आग्रहसमेत गरेका छन् ।

गोल्ड कपका विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद छ लाख पाँच हजार प्राप्त गर्नेछन् । गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख खर्च लाग्ने अनुमान गरिएको महासचिव पौडेलले बताए ।

प्रतियोगिताको मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार र उच्च गोलकर्तालाई नगद २५ हजार प्रदान गरिनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद नौ हजार ९९९ दिइने भएको छ ।

ताजा खबर