बुढासुब्बा गोल्डकप आगामी चैत २६ देखि

२०७८ फाल्गुण १९ बिहीबार १३:२०:०० मा प्रकाशित

धरान । २३औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता आगामी चैत २६ गतेदेखि धरान–१६ स्थित रङ्गशालामा सुरु हुने भएको छ । कोरोना महामारीका कारण गत वर्ष आयोजना हुन सकेको थिएन ।

प्रतियोगितामा आयोजक क्लबसहित आठ टिम सहभागी हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए । उनका अनुसार काठमाडौँमा हालै सम्पन्न भएको सहिद स्मारक लिगको उत्कृष्ट तीन टिम सहभागी हुनेछन् । भारतका दुई क्लब र मोफसलको अन्य दुई उत्कृष्ट क्लब पनि प्रतियोगितामा सहभागी हुने अध्यक्ष उनले जानकारी दिए ।

विजेताले नगद ट्रफीसँगै नगद १० लाख र उपविजेतालाई नगद पाँच लाख पुरस्कार राखिएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक लाख ५० हजार पाउनेछन् । ५१ लाख ३२ हजार खर्च हुने आयोजकले अनुमान गरेको छ । करिब १५ लाख नाफा गर्नेगरी प्रतियोगिताको तयारी गरिएको आयोजकले जनाएको छ । विजेता र उपविजेतालाई दिइने नगद पुरस्कार धरान उपमहानगरपालिकाले व्यवस्थापन गर्ने भएको छ ।

त्यसका लागि उपमहानगरले १८ लाख बजेट विनियोजन गरेको छ । त्यसमध्ये १० लाख पहिलो पुरस्कार र पाँच लाख दोस्रो पुरस्कारको छुट्याइएको छ । बाँकी  तीन लाख धरानको टिम तयारीका लागि खर्च गर्नेगरी उपमहानगरले उपलब्ध गराउने निर्णय भएको क्लबका अध्यक्ष राईले जानकारी दिए ।

उनले यसपटक उपाधि जित्ने लक्ष्यसहित आयोजकले दुई टिम तयार गर्ने जनाएको छ । उपाधि जित्ने गरी ए डिभिजन र विदेशी खेलाडीसमेत समावेश गरेर सिनियर टिम तयार गरिने अध्यक्ष राईले बताए ।

ताजा खबर