संसद अवरोध अन्त्य गर्न एमालेलाई सत्ता गठबन्धनको आग्रह

२०७८ फाल्गुण १९ बिहीबार १२:३५:०० मा प्रकाशित

काठमाडौं । सत्ता गठबन्धनले संसदमा जारी अवरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका चार दलका शीर्ष नेताको बैठकले लगातारको अवरोधले संसदप्रति जनतामा वितृष्णा उत्पन्न भएको भन्दै अवरोध अन्त्य गर्न एमालेलाई आग्रह गरेको हो ।

गठबन्धनको बैठकले जेठ १५ गते बजेट ल्याउनु पर्ने र संसदमा विचाराधीन कतिपय विधेयक पारित गर्नुपर्ने भएकाले संसद् अवरोध हटाउन आग्रह गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनले भने,‘जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थाप्रति ध्यान दिँदै, संसद् यति लामो समय सञ्चालन नहुँदा संसद्प्रति नै जनतामा नकारात्मक धारणा भएकोले प्रमुख प्रतिपक्षी दललाई संसद् सञ्चालन गरेर राष्ट्रका यावत समस्याको विषयमा छलफल गर्ने वातावरण बनाउन आग्रह गर्ने निर्णय गरेका छौं ।’

बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता गरिएको महाभियोग प्रस्तावलाई अगाडि बढाउने विषयमा समेत छलफल भएको बताइएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत सहभागी थिए ।

ताजा खबर