एमसीसी र राष्ट्रिय स्वाधिनता रक्षाका विषयमा विप्लव र रावलबीच छलफल

२०७८ फाल्गुण १९ बिहीबार ११:५३:०० मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव एमसीसी विरोधी नेताहरुलाई एउटै मार्चामा गोलबन्द गर्ने अभियानमा लागेका छन् । उनी यो अभियानअन्तर्गत दैनिकजसो एमसीसी विरोधी विभिन्न दलका नेताहरुसँगको भेटवार्तामा लागेका छन् ।

यसैक्रममा बिहीबार महासचिव विप्लवले नेकपा एमालेका नेता डा. भीम रावलसँग भेट गरेका छन् । पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई लिएर विप्लव रावललाई भेट्न उनकै निवास पुगेका थिए । विप्लवको सचिवालयका अनुसार भेटमा उनीहरुबीच एमसीसी र राष्ट्रिय स्वाधिनता रक्षाका पक्षमा एकताबद्ध भएर संघर्ष गर्ने विषयमा छलफल भएको छ ।

यसमा रावलले सकारात्मक जवाफ दिएको सचिवालयले जनाएको छ । यसअघि बुधबार विप्लवले माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, नेमकिपाका अध्यक्ष नारायमाण बिछुक्छेसँग भेटवार्ता गरेका थिए । एमसीसी संसदबाट अनुमोदन भएपछि माओवादी केन्द्रमा नेता नारायणकाजी श्रेष्ठलगायतका नेताहरु अध्यक्ष प्रचण्डसँग असन्तुष्ट बनेका छन् । एमसीसीकै कारण माओवादी विभाजन हुनेसम्मका खबर सार्वजनिक भइरहेका छन् ।

नेता नारायणकाजीले पार्टीभित्रका एमसीसी विरोधी नेताहरुसँग छलफललाई तीव्र बनाएका छन् । त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता खनाल पनि एमसीसीका कारण असन्तुष्ट बनेका छन् । नेकपा एमालेले संसद बैठक बहिष्कार गरिरहेका बेला नेता रावलले भने संसदमा एमसीसीमाथिको छलफलमा भाग लिँदै अनुमोदन नगर्न सांसदहरुलाई आह्वान गरेका थिए । विप्लव यीनै असन्तुष्ट नेताहरुसँग भेट गरी मोर्चा बनाउनेतिर लागेका छन् ।

ताजा खबर