पार्टी एकता कायमै राख्न नारायणकाजीलाई प्रचण्डको आग्रह

२०७८ फाल्गुण १९ बिहीबार ११:०१:०० मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । बिहीबार बिहान प्रचण्डनिवास खुमलटारमा दुई नेताबीच भेटवार्ता भेटवार्ता भएको हो ।

भेटमा पार्टी एकता कायमै राख्ने विषयमा छलफल भएको बताइएको छ । संसदबाट एमसीसी अनुमोदन भएपछि प्रचण्ड र श्रेष्ठबीचको दूरी बढेको थियो । एमसीसी अनुमोदन गर्ने विषय पार्टीको निर्णय नभई प्रचण्डको एकल निर्णय भएको ठहर गर्दै श्रेष्ठसहित आधा दर्जन प्रभावशाली नेताहरु प्रचण्डको विरुद्धमा उभिएका छन् ।

श्रेष्ठसहित नेताहरु कृष्णबहादुर महरा, लीलामणी पोखरेल, गिरिराजमणी पोखरेल लगायतका नेताहरु प्रचण्डसँग चिढिएका छन् । यसबीचमा नेता श्रेष्ठले आफू पक्षीय नेता तथा नेकपाका महासचिव विप्लवसँग कार्यगत एकता गर्ने विषयमा समेत छलफल सुरु गरेका छन् ।

एमसीसीको विषयमा पार्टीको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले नारायणकाजीलाई मतभेद पार्टी बैठकमा राख्न र जथाभावी नबोल्न आग्रह गरेका थिए । त्यसपछि दुई नेताबीचको विवाद झनै बढेको हो । त्यसपछि अध्यक्ष प्रचण्डले नारायणकाजीसँग लगातार भेट गर्दै विवाद मिलाउने प्रयास गरिरहेका छन् ।

ताजा खबर