दश लाख युक्रेनी छिमेकी मुलुकको शरणमा

२०७८ फाल्गुण १९ बिहीबार ०८:३०:०० मा प्रकाशित

रणनीतिक रूपमा महत्वपूर्ण रहेको युक्रेनी बन्दरगाह शहर खेअरसन रुसी फौजको नियन्त्रणमा गएको त्यहाँका मेयरले बताएका छन् । आक्रमणयता रुसी फौजको नियन्त्रणमा गएको यो पहिलो महत्वपूर्ण शहर हो ।

सामाजिक संजालमा पोस्ट गर्दै खेअरसनका मेयर इगोर कोलिखाएभले रुसी फौजहरू शहरको सभागृहमा पुगेको बताएका छन् । यसैबीच, संयुक्त राष्ट्रसङ्घले दश लाख शरणार्थीहरू युक्रेन छोडेर छिमेकी मुलुकमा पुगेको जनाएको छ । सात दिनको अवधिमा लाखौँ मानिसले युक्रेन छाडेका हुन्। रुसले गत बिहीबार युक्रेनमाथि आक्रमण सुरु गरेको थियो ।

बीबीसीकाअनुसार सन् २०१५मा शरणार्थी सङ्कटका बेला १३ लाख मानिसहरू प्रभावित भएका थिए । युक्रेन सङ्कटकाबीच एक साताको अवधिमै शरणार्थी सङ्ख्या उक्त आँकडानजिक पुगिसकेको छ । राष्ट्रसङ्घका अधिकारीहरूले युद्धका कारण एक करोड २० लाख मानिस आन्तरिक रूपमा विस्थापित हुने र उनीहरूलाई सहायताको आवश्यकता पर्ने अनुमान गरेका छन्।

ताजा खबर