बाँकेमा खुँडा र पेस्तोलसहित तीन जना पक्राउ

२०७८ फाल्गुण १८ बुधबार १६:४६:०० मा प्रकाशित

राँझा । प्रहरीले स्वचालित पेस्तोल र खुँडासहित तीन जनालाई बाँकेमा पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका– १२ का दीपेन्द्र अधिकारी, वडा नम्बर १८ का सुशान्त केसी र कैलालीका द्वारिका उपाध्यायलाई मेड इन यूएसए लेखिएको अटोमेटिक पेस्तोल, त्यसमा प्रयोग हुने ९ राउण्ड गोली र खुँडासहित मंगलबार डुडुवा गाउँपालिकाको राप्ती पुलबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले डुडुवास्थित ४ राप्ती पुल नजिकै गोली चलेको आवाज आएपछि इलाका प्रहरी कार्यालय वनकट्टी (क) बाट गएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जानकारी दिए । सुशान्त केसीले चलाएको वाग्मती प्रदेश ०१–०२५ च ३०९७ नम्बरको गाडी रोकेर जाँच गर्दा पेस्टोल, गोली र खुँडा बरामद भएको प्रहरीको भनाइ छ।

उक्त पेस्तोल दिपेन्द्रले तीन महिनाअघि नै भारतको लखनउबाट असरफ अलीसँग ५० हजारमा खरिद गरेर ल्याएको खुलेको छ । दिपेन्द्र यसअघि पनि आपराधिक घटनामा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

ताजा खबर