एमालेलाई अशोभनीय तवरले भ्रम सिर्जना गर्ने काम नगर्न सभामुखको चेतावनी

२०७८ फाल्गुण १८ बुधबार १३:५६:०० मा प्रकाशित

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको नाम जोडेर भ्रम सिर्जना गर्ने र अफवाह फैलाउन खोजिएको भन्दै सचिवालयले त्यसको खण्डन गरेको छ ।

बुधबार सभामुख सापकोटाको सचिवालयले विज्ञप्ति जारी गरी देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा सभामुखले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाएको र त्यसलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै आपत्ति जनाइएको छ । मंगलबार नेकपा एमालेले एमसीसी र समसामयिक विषयमा जारी गरेको वक्तव्यको बुँदा नम्बर–३ मा ‘सभामुख सापकोटाले एमसीसी सम्झौता पारित भए आत्महत्या गर्ने अभिव्यक्ति दिएको’ उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा उहाँले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई सोही विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ । लोकतन्त्र र संवैधानिक सर्वोच्चताको पक्षमा उभिनुभएका सम्माननीय सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिन्छ । नेपालको संविधान, प्रतिनिधिसभा नियमावली र कानुनले तोकेको परिधिभित्र रहेर संवैधानिक दायित्व र जिम्मेवारी निर्वाह गर्दै आउनुभएका सम्माननीय सभामुखविरुद्ध कपोलकल्पित एवं भ्रमपूर्ण विषयको उठान र दुस्प्रचार खेदजनक छ ।”

ताजा खबर