रुसी फौजद्वारा युक्रेनको खेअरसन शहर कब्जा

२०७८ फाल्गुण १८ बुधबार ०८:२३:०० मा प्रकाशित

युक्रेनमाथि आक्रमण गरिरहेको रुसले पछिल्लो पटक दक्षिणी शहर खेअरसनमाथि नियन्त्रण कायम गरेको छ । साढे दुई लाख जनसङ्ख्या रहेको सो शहरका मेयरले खानेकुरा र औषधि आपूर्तिको सुनिश्चितताका लागि सहायता निकाय तथा सरकारलाई गुहारेका छन् ।

त्यसैगरी घाइतेहरूको उद्धारमा सघाउन पनि उनले अपील गरेका छन् । स्थानीय परिषद्का एक सदस्यले आक्रमणमा परी दुई सयभन्दा बढी व्यक्ति मारिएका र तीमध्ये धेरै सर्वसाधारण रहेका बीबीसीलाई बताएका छन् ।

यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध जारी लडाइँ आफ्नो देश एक्लैले जित्न नसक्ने बताएका छन् । निकै कडा सुरक्षा व्यवस्था भएको एउटा भवनबाट पत्रकारहरूसँग कुरा गर्दै उनले उडान प्रतिबन्धित क्षेत्र घोषणा नगर्ने अडानबारे पुनर्विचार गर्न उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोलाई आग्रह समेत गरे ।

रुसमाथि लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धहरूले असर देखाउन थाले पनि त्यो पर्याप्त नभएको जेलेन्स्कीले जिकिर गरे । रुससँग थप वार्ताको सम्भावनाबारे चर्चा गर्दै उनले त्यसका लागि पहिला युक्रेनमाथि हमला रोकिनुपर्ने स्पष्ट पारे ।

ताजा खबर