‘मेरो विवाह कहिले हुन्छ, भगवानलाई थाहा छ’

२०७४ पौष १३ बिहीबार २१:१२:०० मा प्रकाशित

फिल्मी क्यारियर कसरी शुरु गर्नुभयो ?

म यो क्षेत्रमा प्रवेश गरेको ‘घिङ्तान’ भन्ने रियालिटि शोबाट हो। त्यो डान्स रियालिटी शो थियो। मैले त्यहाँ भाग लिएकी थिएँ। जजहरु प्रसन्न पौडेल र मिङ्मा शेर्पा आउनुभएको थियो। उहाँहरुले नै म्युजिक भिडियोमा मन पराएर लिनुभयो। त्यहि घिङ्तानमा मलाई देखेर क्लोज टुथपेस्टको विज्ञापन एजेन्सीले मलाई विज्ञापनमा खेल्न बोलाउनुभयो। त्यसपछि बिस्तारैबिस्तारै फिल्ममा पनि अफर आउन थाल्यो। त्यहि नै हो मेरो यो क्षेत्रको यात्रा कथा।

म्युजिक भिडियोबाट एक्कासी फिल्ममा प्रवेश गर्दा कस्तो हुँदोरहेछ?

मैले फिल्महरुमा काम शुरु गर्दा त्यति धेरै म्युजिक भिडियोमा काम गरेकी थिईन। मैले दुईतीनवटा म्युजिक भिडियोमा काम गरेपछि एकवर्ष मैले खासै काम गरिन। अर्को वर्ष त मैले फिल्म गरिहालें। म्युजिक भिडियो एउटा सानो बजेटमा बन्छ तर फिल्म भनेको ठुलो बजेट हो। म्युजिक भिडियोमा भोकलसँग केही पनि सम्बन्ध हुँदैन। त्यस्तै म्युजिक भिडियो कत्तिको चल्यो चलेन भन्ने कुरा चाँडै नै थाहा हुन्छ। फिल्मको थाहा पाउन भने समय लाग्छ। फिल्मकोबारेमा भन्ने बित्तिकै थाहा हुँदैन। फिल्मको प्रभाव लामो समयसम्म पनि रहिरहन्छ।

यो क्षेत्रमा राम्री नायिका बन्न कत्तिको सजिलो छ?

मलाई यो क्षेत्रमा प्रवेश गर्न खासै गाह्रो भएन। यो किनभने म एउटा डान्स रियालिटी शोमा आएकी थिएँ। त्यहिँ नै सबैको नजर पर्यो र उहाँहरुले मलाई साइन गर्नुभयो। मेरो पहिलो गीत हिट पनि भयो। म यो क्षेत्रमा एकदमै सजिलो तरिकाले आएकी हुँ। अब संघर्ष भन्ने कुरा चाहि काम गर्दै जाँदा भयो। अहिले मेरो लागि यो संघर्षको समय जस्तो छ किनभने हरेक दिन आफुले गरेको काम भन्दा आफंैलाई राम्रो बनाउँदै लानुपर्ने चुनौती थपिएको छ। हरेक दिन दर्शकको आशा बढ्दो छ। त्यो आशालाई पुरा गर्नुपर्ने चुनौती ममा थपिएको छ। मैले शुरुवाती दौरमा संघर्ष नगरे पनि अहिले मेरो संघर्ष शुरु भएको जस्तो मलाई लाग्छ।

पहिलो पटक पर्दामा जाँदा कस्तो अनुभव भयो?

मेरो टेलिभिजनमा समचारको बेलामा बिज्ञापन बज्थ्यो। त्यसबेला म १२ कक्षाको परीक्षा दिएर बसेकी थिएँ। म आफ्नो बिज्ञापन हेर्नको लागि समाचार नछुटाई हेर्थें। फेरि म सबै परिवारसँग बसेर हेर्न सक्दिनथेँ। मलाई लाज लाग्थ्यो। अर्को टिभी पनि थियो र आफुले अभिनय गरेको बिज्ञापन कतिबेला आउँछ भनेर अर्को कोठामा गएर पुरै समाचार हेर्थें।

तपार्इँको बुवा पनि यही क्षेत्रमा हुनुहुन्छ, फिल्मप्रति तपाईँको रुची व्यक्तिगत हो कि पारिवारिक?

फिल्मप्रति मेरो रुची रहेछ भन्ने कुरा म आफैंलाई पनि थाहा थिएन । म डान्स गर्न चाहिँ रुचाउँथे तर म यसरी नायिका नै भएर आउँछु भन्ने थिएन। मैले त्यहि अनुसार आफुलाई तयार गरेकी पनि थिईन। फेरि एकेडेमिक मेरो एकदमै राम्रो भएको हुनाले त्यतातिर ध्यान नै भएन। हाम्री छोरी नेपाली फिल्म कि नायिका बन्छे भनेर मेरो बुबा आमाले कुनैदिन पनि सोच्नु भएको पनि थिएन होला। म फेरि घर कि सानी छोरी। हाम्रो फिल्ममा काम गर्ने भनेपछि धेरै कुराहरुको अनुमान हुन्छ जसमा म कतै पनि फिट हुन्नथें। म एकदमै सुन्दर देखिने युवती पनि होइन। पढाई पनि एकदमै राम्रो भएको हुनाले मेरो बुबा आमाले सपनामा नै नकल्पेको चिज हो जस्तो लाग्छ। मेरो बुबालाई एउटा कुराको डर पनि थियो। जब म स्टेजमा पर्फम गर्थें, डान्सहरु गर्थें सबैजनाको नजर ममाथि नै हुन्थ्यो। त्यहि डरको कारणले गर्दा पनि बुुबाले मलाई कहिले कुनै सुटिङमा लिएर जानुहुन्नथ्यो।

तपार्इँ नायिका लेखिका र निर्मात्री पनि हुनुहुन्छ । यी तीनवटै काम गर्दा कस्तो अनुभव हुन्छ?

यो कला भनेको गरिरहेकै काम हो। मैले अरु नै केही काम गरेको भए मलाई नौलो लाग्न सक्थ्यो। यो मैले गरिरहेको कामहरु कलाकै बेग्लाबेग्लै पक्षहरु हो। पहिला अभिनय मात्र गर्दा खासै ठुलो जिम्मेवारी हुदैनथ्यो। अब अहिले हरेक जिम्मेवारीहरु आफ्नो काँधमा नै हुन्छ। अहिले मेलै आर्टिकलहरु लेख्दा आफुलाई एकदमै बेग्लै किसिमको पाउँछु। म सामाजिक बिषयहरुमा लेख्न मन पराउँछु। 

कस्तो लाग्छ यहाँसम्म आइपुग्दाको यात्रा सम्झँदा? 

अझ धेरै बिकास हुनु छ जस्तो लाग्छ। तर कलाकारको रुपमा भने एउटा दायरा हुन्छ। आफुलाई दिएको दायरामा मात्र काम गर्न सकिन्छ। यस्तो भएपछि हामीले आफंैले केही पनि काम पाउँदैनौं। हामी आफ्नो सिर्जनामा काम गर्न पाउँदैनौं। आफुमा एउटा कलाकार बन्ने क्षमता राम्रो भएपनि त्यो पनि निर्देशककै हातमा मात्र हुन्छ। तर जब मेकर होइन्छ आफुमा टोली छान्नेदेखि लिएर कुन टिममा कुन व्यक्ति राख्ने र कस्तो उत्पादन निकाल्ने भन्ने कुरा पनि आफैंमा आउँछ। सिर्जनामा शक्ति हुन्छ। सिर्जनामा आनन्द पनि छ र मलाई त्यसले नै खुशी दिएको छ। 

अहिलेसम्म कतिवटा जति फिल्महरुमा अभिनय गर्नुभयो? 

मैले अब मेरो प्रदर्शनमा आउन लागेको राज्जा रानी समेत गरेर त्यो १७ औं फिल्म हो। 

यी फिल्महरुमा हिट र फ्लप कत्ति भए होलान ? 

बक्स अफिसको हिसाब गर्ने हो भने धेरै फ्लप नै छन् तर म आफुले आफुलाई मेकर बनाउने हो भने मेरा नचलेका फिल्महरुबाट मैले धेरै कुराहरु सिकेकी छु। मेरो लागि ती हिट फिल्महरु हुन्। मैले त्यहाँबाट सिक्ने मौका पाएकी छु।

किन चल्दैनन् तपाईँका फिल्म? 

मेरो फिल्म किन चल्दैनन् भन्दा पनि त्यो बोलाको समय नै यस्तो थियो। जतिबेला कुनै पनि फिल्महरु राम्ररी चलेका थिएनन्। नेपालमा एउटा फिल्म हिट हुन्थ्यो र त्यो एउटा फिल्मभित्र म पर्दैन थिएँ।

राजनीतिमा कत्तिको रुची छ? 

राजनीति बुझनुपर्छ जान्नुपर्छ भन्ने कुरामा म सोच राख्छु तर पुरै राजनीतिमा नै ध्यान दिने चाहिँ म होइन। राजनीतिमा पनि सामाजिक कुराहरु आयो भने त्यहाँ चाहिँ म रुची राख्छु।

फिल्म प्रचारको लागि एमाले नेता लालबाबु पण्डितसँग पनि नाच्न भ्याउनु भएछ? 

म लालबाबु पण्डितसँग नाचेकी होइन, लालबाबु पो मसँग नाचेका हुन् त। 

तपार्इँको फिल्म रज्जारानीको लगानी लालबाबु पण्डितले मन्त्री बनेपछि उठाइदिने वचन दिएको भन्ने बजारमा चर्चा छ नि? 

त्यस्तो केही पनि होइन। उहाँले जुन ठाउँबाट चुनाव जित्नु भएको थियो, त्यहाँ हाम्रो एउटा कार्यक्रम थियो। उहाँ कार्यक्रममा बिशेष अथितिको रुपमा आउनुभएको थियो। गीत बजेपछि उहाँले आफ्नो त्यहाँ उपस्थित भएका जनतालाई खुशी बनाउनका लागि एकछिन रमाइलो गर्दिनुभएको हो। यो कुनै ठुलो कुरा पनि होइन। उहाँले चाहि फिल्म जुन सामाजिक कुरामा आधारित छ दाइजो प्रथा। सामाजिक कुराहरुलाई लिएर फिल्म बनाइँदैनन् मनोरन्जनका लागि मात्र फिल्म बनाइन्छ । जब यस्तो चलचित्रहरु बन्छन् र म त्यो समयमा कुनै त्यस्तो स्थानमा भएँभने यो चलचित्रको लागि पहल गर्छु कि यो चलचित्रले लगानी उठाओस् भनेर भन्नुभएको हो। 

व्यक्तिगत प्रश्न गरौं है,अब बिवाह गर्ने बेला भएन ? 

विवाह गर्ने हो। तर कहिले गर्ने भन्ने कुरा मलाई थाहा छैन। म पनि समय नै कुरिरहेकी छु। यो बिषय भनेको जुरेको हुनुपर्छ जस्तो लाग्छ। मैले भगवानमा नै यो कुरा छोडेकी छु। सबै जिम्मेवारी आफुले मात्र किन लिने। परिवारबाट त्यस्तो दवाव छैन। एकदमै स्वतन्त्र छु। परिवारले त खुशी हुनको लागि विवाह नै गर्नुपर्छ भन्ने पनि छैन भन्नुहुन्छ, जुन कुराले म खुशी छु। 

प्रस्तुति: सुकृत नेपाल   
 

 

 
  

 

 

ताजा खबर